बाँकेको जानकीमा ४० संक्रमित भेटिए, हटस्पट बन्दै दैलेख


बाँकेको जानकीमा ४० संक्रमित भेटिए,  हटस्पट बन्दै दैलेख

नेपालगन्ज: बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज वडा नम्बर १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जना रहेको कोरोना फोकल पर्सन श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबै भारतबाट आएकाहरु भएको जनाइएको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा २ र जानकी गाउँपालिका ४० जना पुरुष गरी ४२ जनाका पोजेटिभ देखिएको हो । जानकीमा पहिलो पटक कोरोना संक्रमितहरु भेटिएका हुन् ।

कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेख प्रदेशकै पहिलो शक्तिशाली हटस्पट जिल्ला बन्दै छ । कोरोनाको संक्रमण अहिले दैलेखमा उच्च देखिएको छ । बैदेशिक रोजगारीका लागि भारतका विभिन्न जिल्लामा गएका आम दैलेखी घर फर्किएसँगै दैलेखमा कोरोनाको संक्रमण पनि हवात्तै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाई छ । बाँकेको नेपालगन्ज कञ्चनपुरको महेन्द्रनगरका नाकाबाट करिब १० हजारबढी दैलेखी घर फर्किएका छन । नेपालगन्को जमुनाह नाकाबाट मात्रै ६ हजारबढी नागरिक दैलेख फर्किएको बाँके प्रहरीले बताएको छ । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण भेटिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार दिनमा गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२, सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या समाचार तयार पार्दासम्म दुई सय १८ पुगेको दैलेखका पत्रकार भक्तबहादुर शाही बताउँछन् । नारायण नगरपालिकासहितका विभिन्न पालिका अहिले कोरोना हटस्पटका रुपमा विकास भैरहेका छन् ।