ज्ञापनपत्र बुझाउदै कोहलपुरका व्यवसायी । तस्विर: सेतोखरी
नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेका एक दर्जन व्यवसायी संघ संगठनहरुले सरकारले घरभाडा, कर, बैँक ब्याज लगायतमा छुट तथा मिनाह व्यवस्था नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहिबार एक दर्जन व्यवसायी संघ संगठनहरुद्वारा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् । कोहलपुरका व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको ज्ञापन पत्र बुझाउने कार्यक्रम कोणसभामा परिणत भई समापन भएको थियो ।
उक्त कोणसभालाई कोहलपुरका व्यवसायी नेता एवं कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक विष्णु प्रसाद खनालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा खनालले व्यापारीका यी सामान्य माग पुरा नभए चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने बताए । यसैगरी बिहिबार प्रजातान्त्रीक उद्योग व्यवसायी संघ कोहलपुरले ध्यानाकर्षण पत्र जारी गरी उद्योगी व्यवसायीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
ध्यानकर्षण पत्रमा बैँक ब्याज, घरभाडा व्यवसायी कर छुट, लकडाउनको अवधीभर बैँक ब्याज मिनाह, लकडाउनको अवधीको कारोबारो अवधीको म्याद थप गर्ने पहल, घर बहाल कर छुट, व्यवसायीक सटरहरुको भाडामा छुट पहल गनुपर्ने माग गरेको छ । ध्यानाकर्षण पत्रमा प्रजातान्त्रीक व्यवसायी संघ जिल्ला कार्य समितीका सहसचिव लक्ष्मणराज पौडेल र प्रजातान्त्रीक उद्योग व्यवसायी संघका संयोजक मातृका सापकोटाद्वारा हस्ताक्षर गरेका छन् ।