संक्रमितहरु साईगाउँकै क्वारेन्टिनमा


संक्रमितहरु साईगाउँकै क्वारेन्टिनमा

नेपालगन्जः जानकी गाउँपालिकामा भेटिएका ४० जना कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखिएकोछ । कोरोना संक्रमित भेटिएलगत्तै उनीहरुलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राख्ने राज्यको नीति छ । तर, कोरोना संक्रमितलाई राख्ने उचित आइसोलेसन नबनाइएका कारण उनीहरुलाई गाउँपालिकाको साईगाउँ स्थित क्वारेन्टिनमा राखिएको हो ।

गाउँपालिकाले कोरोना संक्रमितको उचित व्यवस्थापन गर्न प्रभावकारि रुपमा आइसोलेसन व्यवस्थापन गर्न नसक्दा उनीहरु यतिबेला क्वारेन्टिनमै बस्न बाध्य भएकाछन् ।

सरकारको नीति तथा गाउँपालिकाले उचित तथा उपयुक्त वातावरणको आइसोलेसन नबनाउँदा सामान्य व्यवस्थापनमै संक्रमितहरुलाई क्वारेन्टिनमै राखिएको हो ।

जानकी गाउँपालिकामा पहिलोपटक हिजो(बिहीबार) एकैपटक ४० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको थियो । गाउँपालिकाको वडा नम्बर १ साईगाउँस्थित क्वारेन्टिनमा बसेका भारतबाट आएका नेपालीको पीसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ पाइएको थियो ।

संक्रमितहरुलाई गाउँपालिकाले निर्माण गरिएका क्वारेन्टिनमा राखिएको नेकपाका युवा नेता डिल्ली विसीले सेतोखरीलाई जनाकारी दिए । उनका अनुसार–‘संक्रमितहरु पहिचान भइसकेपछि साईगाउँमा रहेको क्वारेन्टिनमा बसेका संक्रमित र अन्यलाई यतिबेला छुट्याएर राखिएकोछ ।’

युवा नेता विसीले भने–‘गाउँपालिकामा एकैपटक भेटिएका ठूलो मात्राका कोरोना संक्रमितहरुको उचित व्यवस्थापनका लागि व्यवस्थापन तयारी भइरहेको छ । अर्को व्यवस्थापन नहुदाँसम्म उनीहरुलाई आफू बसेको क्वारेन्टिनमै राखिएको छ ।’

जानकीमा भेटिएका कोरोना संक्रमितहरु १५ वर्ष देखि ३२ वर्ष सम्मका रहेका छन् । जानकीमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि १ सय १३ जनाको स्वाब संकलन गरिएको थियो । हाल सम्म जानकीमा विभिन्न क्वारेन्टाइनमा २ सय २३ जना भारतबाट आएका नागरिक रहेको युवा नेता विसीले बताए ।

बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन् । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबै भारतबाट आएकाहरु भएको जनाइएको छ ।