नेपालगन्ज: कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला सरकारले कोरोना परीक्षणको स्वरुपमा परिर्वतन गरेकोछ । यो स्वरुपले अब नेपालभर क्वारेन्टिनमा रहेका सबैजनाको पीसीआर परीक्षण गरिनेछैन ।
देशमा कोरोना संक्रमण बढिरहेका बेला परीक्षण दायरा बढाउने माग उठिरहदाँ सरकारले कोरोना परीक्षण सम्बन्धि नयाँ गाइडलाईन तयार पारेकोछ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले तयार पारेको कोभिड–१९ टेस्टिङ नयाँ गाइडलाइन अनुसार क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण नहुने पक्का भएकोछ ।
पछिल्लोसमय क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशितरुपमा बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएका कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो । नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ । सोही प्राथमिकता समूह अनुसार अब नेपालमा कोरोना परीक्षण हुनेछ ।
सरकारले ल्याएको कोरोना परीक्षण सम्बन्धिको गाइडलाइन अनुसार पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन् । यो समूहमा परेका मानिसहरुको छिटो स्वाब संकलन गरी आरटी–पीसीआर विधिबाट परीक्षण गरिनेछ ।
यस्तै दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने, एम्बुलेन्स चालक र अन्य कर्मचारीहरु रहनेछन् ।
त्यसैगरी तेस्रो प्राथमिकतामा लक्षण भएका तर, माथिका प्राथमिकता समूहमा नपरेका व्यक्तिहरु पर्नेछन् । भने कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् । संक्रमण भए नभएको आरटी पीसीआर माध्यमबाट टेस्ट गरिनेछ भने समुदायमा मास स्क्रिनिङ गर्न ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिनेछ ।
यस्तै क्वारेन्टिनमा बसेका र लक्षण देखिएकालाई आरटी–पीसीआर गर्ने नयाँ गाइडलाइनमा उल्लेख छ । तर, क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ । तर, हाललाई यस्ता केसहरुई आरडीटी गर्ने भनिएको छ ।
त्यसैगरी लक्षण नदेखिएका मानिसहरु १४ दिन आइसोलेसनमा बसे भने उनीहरुको परीक्षण गर्नु नपर्ने भनिएको छ । लक्षण देखिएर १४ दिन आइसोलेसनमा बसेकाहरुको पछिल्लो तीन दिनसम्म कुनै लक्षण देखिएन भने पनि टेस्ट आवश्यक नभएको गाइडलाइनमा उल्लेख छ ।
यो नयाँ गाइडलाईन अनुसार मानिसलाई ज्वरो, श्वासप्रसवासमा समस्या, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको छ भने आरटी–पीसीआर माध्यमबाट परीक्षण गरिनेछ । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या भएका दीर्घरोगीहरुलाई पनि आरटी–पीसीआर गरिनेछ ।
यसैगरी नयाँ गाइडलाईनले अस्पतालमा भर्ना भएका र तत्काल सर्जरी गर्नु पर्ने मानिसको सर्जरी गर्न आरटी–पीसीआरको रिपोर्ट नकुर्न भनिएको छ । स्वाब झिकेर ल्याबमा पठाएर अपरेसन गर्न पाउने गाइडलाइनमा उल्लेख छ ।