बाँके र दैलेखमा निषेधाज्ञा: लकडाउनमा कडाई
नेपालगन्जः बाँके प्रशासनले बिहीबार गरेको निर्णयमाथि शुक्रबार नै फेरबदल गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षमा बिहीबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बारअनुसार बाँकेको बजार खुल्ला गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन हुन नपाउँदै उनकै अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णयमाथि हेरफेर गरेको छ ।
शुक्रबारको बैठकले शनिबार विहानदेखि पहिलेको जस्तै अत्यावश्यककीय बाहेकका अन्य पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्न भनेको छ ।
बाँके प्रशासनले शुक्रबार नेपालगन्जको लकडाउन खुकुलो बनाउँदै यहाँको केही बजार खोलेपछि आम नागरिकहरू समेत आक्रोशित भएका थिए ।
प्रस्तावित लम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले समेत यसरी आफूखुशी खोलिएको लकडाउनबाट पर्ने असरको जिम्मेवारी आफै हुनुपर्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्री पोखरेलको यस्तो चेतावनी र नेपालगन्जका नागरिकको चरम विरोध पछि हतासिएका बाँकेका प्रजिअ कुरुम्बाङले शुक्रबार सर्वदलीय, सर्वपक्षीय बैठक बसाएका थिए । शुक्रबारको बैठकपछि शनिबारदेखि बाँकेमा फेरी लकडाउन पहिलेकै अबस्थामा रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताउँछन् ।
उनकाअनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निशेषाज्ञा फेरि लकडाउनमा कडाई गर्ने भएको छ । यसअघि बार अनुसार पसल ब्यवसाय खोल्न दिने निर्णय गरेको प्रशासनले उक्त निर्णय खारेज गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जेठ २१ गतेको निर्णय खारेज गरेको जनाएको हो ।
बजार र पसल ब्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले उक्त निर्णय खारेज गरिएको उनले बताए । बिहान ११ देखी दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य बस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको छ । तत्कालिन सिडिओ कुमारबहादुर खड्काले जस्तै हचुवाको निर्णय गर्ने काममा अहिलेका सिडिओ पनि माहीर देखिएको जानकार बताउँछन् ।
यसैबीच दैलेख प्रशासनले सदरमुकामका साथै यहाँका दुईवटा नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उनले बताए । निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।
भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ । नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको थियो ।