कर्णालीमा ४८९ संक्रमित: सुस्त सरकार उच्च ‘हटस्पट’ दैलेख


कर्णालीमा ४८९ संक्रमित:  सुस्त सरकार उच्च ‘हटस्पट’ दैलेख

नेपालगन्ज: कर्णाली प्रदेशको धार्मिक क्षेत्र दैलेख यतिबेला कोरोनाको उच्च हटस्पट बनेको छ । कर्णाली प्रदेश सरकार र दैलेखका स्थानीय निकायको चरम उदासिनता, लापरबाही र गैरजिम्मेवारपूर्ण कामले गर्दा यतिबेला दैलेख कोरोनाको हटस्पटमात्रै होइन उच्च हटस्पट बनेको हो ।

बैदेशिक रोजगारीका क्रममा भारत गएका र कोरोनाको संक्रमण भारतमा बढेसँगै घर फर्किएका आफ्ना नागरिकको उचित व्यवस्थापनमा दैलेखका स्थानीय तह उदासिन देखिएका छन् ।

कोरोना भित्रिन नदिन जेसुकै संयन्त्र प्रयोग पनि गर्ने र आफ्ना जनतालाई सुरक्षित बनाउने कसम खाएको प्रदेश सरकारको गैरजिम्मेवार कामले गर्दा कर्णालीका दैलेख, सुर्खेत लगायतका जिल्लामा अहिले कोरोनाको कहर बढेको देखिएको छ ।

अहिले कर्णालीमा यतिबिघ्न संक्रमण फैलिनुमा प्रदेश सरकारको गैरजिम्मेवारी नै रहेको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का बताउँछन् । तर, हिजो संक्रमण नहुँदासम्म धमाधम उद्दार गर्दै गाउँ पु¥याउने होडबाजीमा देखिएका दैलेखका स्थानीय तह अहिले संक्रमित गाउँ पुगिसकेपछि यसको जिम्मेवारी लिनबाट पन्छिदै जान थालेका छन् ।

त्यतिबेलै सरकारले भारतबाट आएकालाई सुर्खेतमा राखेर विस्तृत परीक्षण गर्नुपर्थ्यो मेयर खड्काले भने ‘प्रदेश सरकारलाई आग्रह गरेको हो । तर, त्यसो हुन सकेन । अहिले त्यसको परिणाम भोग्दै छौ ।’ यो स्थिति झन् अझ भयाभह हुन सक्ने अवस्था छ । पहिले नै हामीले आरडीटी परीक्षण गरी पोजेटिभ देखिएका र नेगेटिभ देखिएकालाई छुट्टाछुट्टै राख्नुपर्ने थियो । उनले थपे ‘त्यसो हुन सकेन । प्रदेश सरकारसँग सबै संरचना, जनशक्ति हुँदा पनि व्यवस्थापन गर्न सरकारले उदासिनता देखाएको छ ।’

अहिले गाउँमा भयावह स्थिति सिर्जना भएको हो । यो लापरबाही प्रदेश सरकारबाट भएको हो उनले भने ‘अब प्रदेश सरकारले नै जिम्मेवारी लिनुपर्छ ।’

कर्णाली प्रदेशको दैलेख जिल्लामा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक÷एक जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै शुक्रबार कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन् । कर्णाली प्रदेशको दैलेख जिल्ला अहिले कोरानाको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । भारतबाट आएकाहरुको समयमै परीक्षण र व्यवस्थापन गर्न नसक्दा गाउँमा संक्रमण अनियन्त्रित बन्न थालेको छ ।

कर्णालीको पनि दैलेख उच्च जोखिममा देखिएको छ । केही दिनमै यस्तो अवस्था आउनु र नियन्त्रण गर्न नसक्नुले यहाँका जनप्रतिनिधी, स्थानीय तह, प्रहरी प्रशासन समेत दोषी रहेको देखिएको छ ।

कर्णाली प्रदेशमा कोभिड–१९ का पुष्टि भएका संक्रमितहरुको संख्या ४८९ पुगेको छ । शुक्रबार थप एक सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।

यसमध्ये, सुर्खेतको पञ्चपुरी निवासी २० वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।