कोरोनालाई जितेर घर फर्केका पत्रकार मेघराज ओली र उनकी श्रीमती नर्स लक्ष्मी केसी ।
नेपालगन्ज : कोरोना संक्रमणलाई जितेर नेपालगन्ज उपमहानगरपालिका २ का नर्स र पत्रकार जोडी घर फर्किएका छन् । नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र उनका श्रीमान पत्रकार मेघराज ओली झण्डै दुई हप्तापछि कोरोना जितेर शनिवार घर फर्किएका हुन ।
अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, नेपालगन्ज उपमहानगरपालिका उमा थापामगर लगायतका व्यक्तीहरु अस्पताल पुगेका थिए । उच्च मनोबल र स्वास्थ्य आचरणमा ध्यान दिएका कारण कोरोनाबाट मुक्ती पाएको उनीहरुको प्रतितिक्रया छ ।
यस अवधिमा सहानुभुती प्रकट गर्नेहरु प्रति दुबै जनाले धन्यवाद दिए । अरु दिन जस्तै केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन । उनी खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको उपप्रमुख हुन् । संक्रमण भएको थाहा हुँदासम्म कोरोना बिरुद्ध गाउँपालिकाले चलाएका हरेक अभियानमा उनले फिल्डमा खटिएर सक्रियतापूर्वक काम गरेकी थिइन् ।
खजुराको उढरापुरमा एकजना संक्रमण देखिएपछि उनी सहित अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । त्यसमा अरुको नेगेटिभ आए पनि केसीको पोजिटिभ आएको थियो । लगत्तै परिवारका सदस्यको पनि परीक्षण गरियो ।
जसमा छोराछोरीको नेगेटिभ र श्रीमानको पोजिटिभ देखियो । श्रीमान नेपालगन्जका अग्रज पत्रकार हुन । उनी दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । संक्रमण देखिने बित्तिकै दुबैजानलाई खजुरास्थित कोरोना बिशेष अस्पतालमा आइसोलेट गरिएको थियो ।
कोरोना बिरुद्धको अभियानसंगै सामाजिक मनोचिकित्सासंग सम्बन्धी जनचेतना फैलाउन आवश्यक भएको उनीहरुको भनाई छ । समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यसलाई फेर्नुपर्ने ओली बताउँछन् ।