काठमाडौंमा थप चार जनामा कोरोना पुष्टि

देशभर ३२३९ संक्रमित, १३ जनाको मृत्यु, ३६५ निको भए


काठमाडौंमा थप चार जनामा कोरोना पुष्टि

नेपालगन्ज: काठमाडौंमा थप चार जनामा कोरोना भाइरस पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

स्रोतकाअनुसार उनीहरुमध्ये दुई जना प्रहरी हुन् । एक जना नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको र त्यही अस्पतालमा डायलासिस गराइरहेका प्रहरी नै हुन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार नै नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा उक्त कुरा जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार २ सय ३९ पुगेको छ ।

यस्तै शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३ सय ६५ पुगेको छ । जसमा २ सय ९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरे ।

कर्णाली प्रवेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार उनी दम रोगी रहेका थिए । उनको जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।

त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।