File Photo
नेपालगन्ज: आईतबार (आज) देखि बाँकेसहित देशभरका मालपोत कार्यालयहरू खुल्ने भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम फैलिन नदिन लागू गरिएको लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महिनापछि खुल्न लागेका हुन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आईतबारदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।
विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोल्न लागिएको हो । ती कार्यालयहरूले आवश्यक स्वास्थ तथा सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नेछन् ।
मालपोत कार्यालय बन्द हुँदा जग्गा र यसको कारोबारको क्रममा हुने राजस्व संकलन समेत प्रभावित भएको थियो । विभागको निर्देशन अनुसार आईतबारदेखि मालपोत खुल्ला रहने मालपोत बाँकेका प्रमुख प्रेम दौत्याल बताउँछन् । उनकाअनुसार कार्यालय खुलेपनि सेवा प्रवाहका क्रममा सामाजिक दूरी कायम गरिनेछ ।
यद्यपी बाँकेमा यसअघि लागु भएको निषेधाज्ञा र लकडाउनले भने मालपोत कार्यालय खुल्ला भएपनि सेवाग्राहीको उपस्थिती अपेक्षित नहुने देखिएकोछ ।