नेपालगन्ज: कोभिड–१९ ले विश्व हलचल मच्चाएका बेला सार्वजनिक भएको एक प्रतिवेदनका आधारमा नेपाल खराब देशको ८० औं सूचीमा देखिएको छ ।
विश्वका अधिकाशं देशका विभिन्न जिल्लामा कोरोना संक्रमण पुगिसक्दा नेपाल कोरोनाका कारण अति खराब मुलुकहरुको ८० औं सूचीमा देखिएको छ ।
खराबको सूचीमा नेपालले थाइल्याण्ड लगायतका मुलुकलाई पछाडि पारिसकेको छ । कोभिड–१९ संक्रमितको संख्याका आधारमा खराब मुलुकहरुको नेतृत्व अमेरिकाले गरिरहेको छ । दोस्रोमा ब्राजिल र तेस्रोमा रसियाले यसको नेतृत्व गरिरहेका छन् ।
खराब मुलुकहरुको सूचीमा नेपाल ८० औं स्थानमा देखिएको नेपालमा शनिबार ३ सय २३ नयाँ संक्रमित थपिएपछि नेपालले खराबको सूचीमा ४ वटा मुलुकलाई उछिनेको हो । नेपालमा संक्रमितको संख्या ३२ सय पार भइसकेको छ ।
७८ र ७९ औं नम्बरमा रहेका डिआरसी कंगो र आइभरी कोस्टसँग नेपाल हाराहारीमा छ । थाइल्याण्ड यो सूचीमा ८१ औं स्थानमा छ । त्यहाँ ३१ सय ४ संक्रमित छन् ।
संक्रमितको संख्यामा अमेरिका २० लाखको मुखैमा छ । अहिलेसम्म अमेरिकामा १९ लाख ८८ हजार ५ सय ४४ जना संक्रमित छन् । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६ लाख ७३ हजार ५ सय ८७ रहेको छ ।
रसियामा ४ लाख ५८ हजार ६ सय ८९ संक्रमित छन् । त्यसपछि स्पेनमा २ लाख ८८ हजार ३ सय ९० संक्रमित रहेका छन् । मृत्यु भएका विरामीको संख्यालाई हेर्ने हो भने यो खराब मुलुकमध्ये रसियाको अवस्था राम्रो छ । त्यहाँ अहिलेसम्म ५ हजार ७ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा यसबाट मर्नेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ । त्यसबाहेक अधिकांश मुलुकमा मृत्यु हुनेको संख्या अत्याधिक छ । अमेरिकामा १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा मर्नेको संख्या ३५ हजार ९ सय ५७ पुगेको छ । स्पेनमा २७ हजार १ सय ३५ र बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ ।