नेपालगन्ज : देशमै सबैभन्दा बढि कोरोना संक्रमित भएको प्रदेश पाँचबाट दिनहुँ कोरोना जितेर घर फर्किनेको संख्या बढेर आएकोछ ।
प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धिसँगै कोरोना जितेर घर फकर्नेहरु पनि दैनिकजसो थपिँदै छन् । आईतबार प्रदेश नम्बर ५ का १९ जनाले कोरोना जितेर घर फर्केकाछन् ।
जसअनुसार बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो ।
आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना भएका थिए । जसमध्ये सात जना भारतबाट फर्किएर आएकाहरु थिए ।
यस्तै कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिका पनि संक्रमित थिए । उनीहरु पनि कोरोनालाई जितेर घर फर्केका छन् । उक्त आइसोलेशनमा अब ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ ।
यस्तै आजै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दाङका दुई जना सहित १० जना आईतबार घर फर्किएका छन् ।
प्रदेश पाँचमा सबैभन्दा बढि कोरोनालाई जितेर घर जानेको संख्या बाँकेमा रहेकोछ । हालसम्म बाँकेमा ४६ जनाले कोरोनालाई जितेर घर फर्किसकेकाछन् ।