नेपालगन्ज : देशको पूर्वी तराई जिल्ला सप्तरी र पर्सा जिल्लामा कोरोना संक्रमित थपिएकाछन् । सप्तरी १६ र पर्सामा ८ जना गरि सोमबार विहान २४ जना नयाँ संक्रमित थपिएका हुन् । सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन् । संक्रमितमध्ये एक जना ३५ वर्षीया महिलासमेत छिन् ।
संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा राखिनेछ । भने संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । सप्तरीमा एकै दिन १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको छ ।
यसबीच पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डाक्टर उदयनारायण सिंह बताउँछन् ।
संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।
भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल राखिनेछ । गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहका अनुसार १५ दिन अघि उनीहरु भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए ।