पिसीआरबिनै घर पठाउँदा दैलेखको महाबु पालिका उच्च जोखिममा


पिसीआरबिनै घर पठाउँदा दैलेखको महाबु पालिका उच्च जोखिममा

File Photo

नेपालगन्ज: दैलेखको महाबु गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक हजार जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

भारतबाट आएर १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना संक्रमण छ वा छैन् भन्ने किटान गरी घर पठाउनुपर्नेमा उनीहरुलाई आरडीटी विधिबाट मात्र परीक्षण गरेर घर पठाइएको हो । नेपालमै आरडीटी विधिबाट गरिएको परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएका कतिपय व्यक्तिमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैले कोरोना परीक्षण पुष्टि गर्न पीसीआर विधि नै विकल्प भए पनि क्वारेन्टिनमा राख्ने ठाउँ नभएको, पीसीआर परीक्षणको रिपोर्ट समयमा नआउने आदि कारणले स्थानीय जनप्रतिनिधिले परिवारका मानिसहरुलाई रोहबरमा राखी क्वारेन्टिन बसेकाहरुलाई घर पठाइरहेका छन् ।

गाउँपालिकाले जेठ २१ देखि २५ गते सम्म क्वारेन्टिनमा आएका १ हजार ७६ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ७६ जनामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो भने अरुको नेगेटिभ आएको थियो ।

पोजेटिभ आएकाहरुलाई क्वारेन्टिनमै राखेर नेगेटिभ आएकाहरुलाई वडा अध्यक्ष, गाउँपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र परिवारको एक जना सदस्यको रोहबरमा दश दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब रमेशकुमार दशौदीले जानकारी दिए ।

गाउँपालिकाले गत जेठ १५ गते ५ सय ९२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेतस्थित प्रयोगशालामा पठाएको थियो । उनीहरुको जेठ २४ गतेमात्र रिपोर्ट आएको थियो । पीसीआर परीक्षणका लागि पठाएको स्वाबको समयमै रिपोर्ट नआएपछि आरडीटी विधिकै परीक्षण गरेर घर पठाइएको अहेब दशौदीले जानकारी दिए । उनले भने, ‘पीसीआर परीक्षण गरेर पठाउने भनिए पनि रिपोर्ट समयमै आउँदैन । त्यहीँ प्रयोशालाका मान्छेहरुले स्वाब बढी भएर हम्मे–हम्मे भएको बताउँछन् । त्यसैले आरडीटी परीक्षण गरेर पठाउनुप¥यो ।’

गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले पनि आरडीटीको रिपोर्ट नेगेटिभ आएपछि परिवारको रोहबरमा होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको बताए । उनका अनुसार महाबुमा मात्रै ३ हजार २ सय जना भन्दा बढी मानिस भारतलगायतका अन्य देशबाट आएका छन् । अहिलेसम्म २२ सय जना क्वारेन्टिनमा बसेका छन् ।