फोनको भरमा आइसोलेसनको परामर्श


फोनको भरमा आइसोलेसनको परामर्श

नेपालगन्ज: बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् । ती सेन्टरमा लक्षण नदेखिएका कोरोना संक्रमितलाई राख्ने गरिएको छ । तर, ती आइसोलेसनमा दैनिक नियमित डाक्टरको निगरानी भने हुँदैन् ।

अहिलेसम्म आवश्यक परेको अवस्थामा मात्र डाक्टर आइसोलेसन सेन्टरमा जाने र परामर्श फोनबाटै दिने गर्दै आएको खुलेको छ । यसले गर्दा संक्रमितहरूले प्रभावकारी परामर्श पाउन नसकेको गुनासो गरेका छन् ।

संक्रमितहरूको गुनासो र डाक्टरहरूको नियमित नजाने प्रवृत्तिका कारण बाँके प्रशासनले अबदेखि आइसोलेसनमा नियमित दैनिक डाक्टर अनिवार्य गर्न थालेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताउँछन् ।

अहिले आइसोलेसन सेन्टरमा तीन/तीन जनाको दरले डाक्टर खटाईएपनि डाक्टरहरू नियमित नभएको गुनासो बढेसँगै प्रशासनले अब तोकेरै डाक्टरलाई आइसोलेसनमा पठाउने तयारी गरेको उनले जानकारी दिए ।

प्रावधान अनुासर डाक्टरले संक्रमितलाई आइसोलेसनमै परामर्श दिनुपर्ने हो । तर, बाँकेका अधिकाशं डाक्टर कोरोनाको त्रासकै कारण टेलिफोनमै परामर्श दिदै आएको पनि खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको कोभिड क्राईसिस म्यानेजमेन्ट समितिको सोमबारको बैठकले यस्तो निर्णय समेत गरेकोे हो । डाक्टरबाहेकका अन्य स्वास्थ्यकर्मी भने सम्बन्धीत पालिकाले नै खटाउने भएका छन् ।