कोहलपुर मेडिकल कलेज सील


कोहलपुर मेडिकल कलेज सील

नेपालगन्जः नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सील गरीएको छ ।

सोमबार अछामबाट उपचारका लागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।

कोहलपुरमा उपचार गराईरहेकी ती महिलाको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डाक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टिनमा राखिएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सील गरिएको डाक्टर श्रेष्ठले बताए ।

१८ हप्ताको गर्भवती समेत रहेकी ती महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरिएको डाक्टर श्रेष्ठले जानकारी दिए ।
ती महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो । अछामको अस्पतालले जागिरबाट निकालेपछि आत्मदाहको प्रयास गरेका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको डाक्टर श्रेष्ठले पुष्टि गरे ।

अस्पतालले करार नविकरण नगरेपछि उनले सोमबार बिहान आफैँलाई पेट्रोल छर्किएर अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अवस्थामा पुगेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत कोहलपुर ल्याइएको थियो ।