कोरियनपुरका संक्रमित अझैं भेटिएनन्


कोरियनपुरका संक्रमित अझैं भेटिएनन्

कोरोना संक्रमित भागेको विद्यालय ।

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुरका कोरोना संक्रमित अझै फेला परेका छैनन् ।

जानकी गाउँपालिका–१, जोगागाउँस्थित श्री माध्यमिक विद्यालय आइसोलेशनबाट भागेका ती ३५ वर्षी संक्रमित पुरुष अझैँ फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा राखेको चार दिन बित्न नपाउँदै उनी आइसोलेशनबाट प्रहरीको आँखा छलेर भागेका हुन् ।

शौच गर्न जाने बहाना बनाएर उनी सोमबार राती प्रहरीको आँखा छलेर भागेको वडा अध्यक्ष मोहम्मद रजा राई बताउँछन् । मङ्गलबार विहान ४ बजे आफ्नो टोलीका सदस्य गणना गर्ने क्रममा उनी फेला नपरेपछि प्रहरीलाई खबर गरिएको उनले बताए ।

उक्त आइसोलेशनमा ४१ जना संक्रमित राखिएका छन् । आइसोलेशनको दक्षिण तर्फ पर्खाल नभएकोले उनलाई भाग्न सजिलो भएको प्रहरीले जनाएको छ । पर्खाल नभएको भागमा प्लाष्टिकले बेरिएको छ । ‘प्रहरीको आँखा छलेर त्यहिँबाट संक्रमित भागेको हुनुपर्छ,’ वडा अध्यक्ष राईले भने ।

९ जेष्ठमा क्वारेन्टिनमा राखिएका ती ब्यक्तिको कोरोना जाँच गर्दा २२ जेष्ठमा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति भागेको जानकारी पाउना साथ खोजीका लागि प्रहरी परिचालन गरिएपनि फेला नपरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए ।
उनले नेपाल प्रहरीका सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको बताए । ‘खोजीका लागि अन्य सुरक्षा निकायसँग पनि समन्वय भएको छ,’ उनले भने, ‘सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।’

आइसोलेशनबाट भागेका ब्यक्ति भारत गएको अनुमान लगाइएको छ । उनी एक महिना अघि भारतबाट आएका थिए । पहिले महेन्द्र बहुमुखी क्वारेन्टिनमा बसेका उनी त्यहाँबाट पनि भागेको वडा अध्यक्ष राईले बताए ।

आइसोलेशनबाटै कोरोना संक्रमित भागेपछि यतिबेला कोरियनपुर लगायतका क्षेत्रमा त्रास सिर्जना भएकोछ । यसरी उपचारका लागि आइसोलेशन कक्षबाटै भाग्ने संक्रमितलाई पक्राउ गरि कडा कारबाही गरिनुपर्ने आम सर्वसाधरणले माग गरेकाछन् ।

आइसोलेशन कक्षबाट भागेको दुईदिन भइसक्दा पनि उनी फेला नपरेपछि संक्रमितलाई गोली हान्न समेत सर्वसाधरणले माग गरेका छन् । विभिन्न सामाजिक सञ्जालमा समेत उनको नाम र तस्विर सार्वजनिक गरि खोजविन गर्नुपर्ने आवाज पनि उठिरहेकोछ ।

बाँकेमा पहिलो पटक आइसोलेशन कक्षबाटै संक्रमित भागेपछि जिल्लाका अन्य आइसोलेशन तथा क्वारेन्टिनमा सुरक्षा सर्तकता बढाइएको बाँके प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कोरियनपुरका संक्रमितलाई गोली हान्न माग