कोहलपुरसहित देशभर थप २७९ जनामा कोरोना संक्रमण


कोहलपुरसहित देशभर थप २७९ जनामा कोरोना संक्रमण

नेपालगन्जः बाँकेको कोहलपुरसहित देशभर कोरोना संक्रमित थपिएकाछन् । बुधबार सार्वजनिक तथ्यांक अनुसार बाँकेको कोहलपुरसहित देशभर थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यसअघि बाँकेको ८ स्थानीय तह मध्ये कोहलपुर नगरपालिकामा मात्र कोरोना संक्रमित देखिएका थिएनन् । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा बाँकेको कोहलपुरमा पहिलोपटक ३ जना कोरोना संक्रमित भेटिएका छन् ।

भारतबाट आई क्वारेन्टिनमा बसिरहेका १८ वर्षका २ र २२ वर्षका १ जना गरि ३ जना पुरुष कोरोना संक्रमित भेटिएको हो । उनीहरु कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी हुन् ।

यसैबीच नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार २ सय ७९ जनामा संक्रमण देखिएको हो । आज (बुधबार) थपिएका २ सय ७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन् ।

नेपालमा हालसम्म ६ सय ७४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् । प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । भने देशभर १५ जनाको मृत्यु भएको छ । जसमध्े ११ जनाको मृत्युपश्चात उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।