File Photo
नेपालगन्ज:कोरोना भाइरसका कारण स्थगित गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । योसगैं २०७६ को एसईई परीक्षा दिन तयार रहेका लाखौं विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने भएकाछन् ।
शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।
तर, तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको हो ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।
एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर, अन्तिम समयमा चैत ५ गते साँझ कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेको थियो ।
परीक्षाका लागि देशभर चार लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् । यसबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।
नेपालमा एसईईको ईतिहास हेर्दा कोरोना भाइरस महामारीका कारण पहिलो पटक एसईई परीक्षा हुनसकेन । देश सशस्त्र द्वन्द्वमा पर्दा समेत एसईई(एसलसी) नरोकिएको नेपालमा कोरोना भाइरसका कारण यसपटक हुन सकेन । शिक्षा क्षेत्रमा पहिलोपटक लाखौं विद्यार्थी अन्तिम परीक्षा दिनबाट बञ्चित बन्न पुगेका हुन् ।