आजबाट लकडाउन खोलिने


आजबाट लकडाउन खोलिने

File Photo

नेपालगन्ज: सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो ।

पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

बैंक, वित्तीय संस्था, सबै कार्यालय (सरकारी–गैर सरकारी) मा आधा मात्र कर्मचारी राख्न सरकारले निर्देशन दिएको छ । त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ ।

पहिलो २१ दिनको स्थितिको विश्लेषण गरेर सरकारले १५ दिनसम्म थप क्षेत्र खुला गर्ने निर्णय गरेको छ । जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने सरकारको तयारी छ ।

त्यसचरणमा रिक्सामा एक जना यात्रु राखेर चलाउन पाइने छ । ट्याक्सी सेवाले पनि चालकबाहेक दुईजनासम्म यात्रु राखेर चलाउन पाउनेछन् । रेस्टुरेन्ट, खाजा घरले ग्राहकबीच दुई–दुई मिटरको दूरी कायम गरेर सेवा सञ्चालन गर्न सक्ने छन् ।

त्यसपछि अर्को १५ दिने चरण सुरु हुनेछ । तेस्रो र अन्तिम भनिएको यो चरणमा सबै सरकारी, गैर सरकारी, निजी कार्यालय पूर्णतः खुला गर्ने, सेवा प्रवाह सुचारु हुनेछ । सङ्क्रमणको जोखिम मूल्याङ्कन गरेर १०० भन्दा कम सक्रिय केसहरू रहेको ठाउँमा अन्तर–जिल्ला आवागमन खुला गर्ने सरकारको तयारी छ ।

त्यही चरणमा सार्वजनिक सवारी खुला हुनेछन् । तर सिटभन्दा बढी यात्रु राख्न पाउने छैनन् । आन्तरिक हवाइ उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्र, पर्वतारोहण आदि क्षेत्र खुला हुनेछन् ।

त्यस चरणमा अन्तर्राष्ट्रिय उडानतर्फ पनि बुकिङ खुला गरिनेछ । र, शिक्षण संस्था परीक्षा प्रयोजनका लागि खुला गरिनेछ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा विद्यालयकै जिम्मामा छाड्ने निर्णय गरेको थियो ।

आन्तरिक मूल्याङ्कनमार्फत ग्रेडिङ तोक्न निर्देशन दिएकाले त्यही चरणमा परीक्षा सुरु गर्ने सरकारको तयारी छ । तालिम तथा ट्युसन केन्द्र पनि यही चरणमा सुचारु हुनेछन् ।यो चरणको समग्र मूल्याङ्कन गरेर त्यसपछि सम्पूर्ण क्षेत्र खुला गर्ने सरकारको तयारी छ । आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा प्रकाश पारिने एक मन्त्रीले जानकारी दिएका छन् ।