File Photo
नेपालगन्ज: बाँके कोरोना संक्रमित आज घर फर्किदैछन् । बाँकेका विभिन्न आइसोलेसनमा बसेका २० जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिदैछ ।
१४ दिनको आइसोलेसन बसाई पूरा गरी बाँकेका २० जना कोरोना संक्रमित आज घर पठाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँके नरैनापुरका १९ र नेपालगन्जका एकजना गरि २० जना घर जान लागेका हुन् । नरैनापुरका १९ जना कोहलपुरको पिपरी र नेपालगन्ज–१० का एकजना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बसेका छन् ।
पछिल्लोपटक स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाले १४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई घर पठाउन सकिने व्यवस्था गरेको छ । १४ दिन बसिसकेकालाई रिचेक आवश्यक छैन ।
आइसोलेशनमा कम्तीमा १० दिन बसेकाहरुबाट कोरोना भाईरस अन्यमा नसर्ने नयाँ निर्देशिकामा बताईएको छ । बाँकेमा निर्देशिका अनुसार ५८ जनालाई घर पठाइएको छ । २० जना आज डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर घर जानेको संख्या बाँकेमा एक सय ५५ पुग्ने छ ।
हालसम्म बाँकेमा २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ जसमध्ये एकजनाको मृत्यु भइसकेको छ । पछिल्लोपटक बाँकेको कोहलपुर नगरपालिकामा ३ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो । योसगैं बाँकेका ८ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोछ ।