६० जनाले कोरोना जिते
नेपालगन्ज: कर्णाली प्रदेशमा कोरोना संक्रमित ७ सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएसगैं संक्रमित संख्या ७ सय ६३ पुगेको हो । भने हालसम्म ३ जनाको मृत्यु भइसकेकोछ ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यसबीच कर्णाली प्रदेशमा संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने ६० जना निको भएर घर फर्किसकेका छन् । आज बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।
यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन् । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् । उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको हो ।