सार्वजनिक सुनुवाईपछि चोकको नामाकरण गरिने
File Photo
नेपालगन्ज: नेपालगन्जको त्रिभुवन चोकमा राष्ट्रिय झण्डा र नेपालको नक्शा राखिने भएकोछ । बाँकेका क्रियाशिल राजनीतिक दलले बिहीबार नेपालगन्जको त्रिभुवन चोकमा राष्ट्रिय झण्डा सहित नेपालको नक्शा राख्ने भद्र सहमति गरेका हुन् ।
नेपालगन्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि यस्तो सहमति गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले बोलाएको जिल्ला स्थित सर्वदलीय तथा सर्वपक्षीय बैठकले त्रिभुवन चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण गर्ने निर्णय गरेको छ ।
बैठकले चोकको नामाकरणका सन्दर्भमा सोही स्थानमा सार्वजनिक सुनुवाई तथा सर्वदलीय सहमतिको विधिद्वारा गर्ने गरि हाललाई सौन्दर्यकरण कार्य सुरु गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले बताए ।
उपमहानगरपालिकाका प्रमुख डाक्टर राणाले कुरुप भएको चोकमा स्तम्भ निर्माण गरि नेपालको झण्डा राख्ने निर्णय कार्यपालिकाको बोर्ड बैठकले बताए । उनले भने–‘यो चोक नगरको मुटुमा छ, नगरप्रमुख डाक्टर राणाले भने, अब यसलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो काँधमा छ ।’
उनले नगरको विकासका लागि पार्टीगत धारणाबाट माथि उठेर सौन्दर्यकरण गर्न लागिएको भन्दै विकासमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगरले चोकले नेपालगन्जलाई चिनाउने भएकाले सौन्दर्यकरण अति आवश्यक भएको बताउदै उनले नामाकरण लगायतका अन्य कार्य निर्माणपछि गर्न सकिने धारणा राखिन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले विकास निर्माणमा सबैपक्षको साथ र सहकार्य आवश्यक पर्ने जिकिर गरे । नेकपा बाँकेका सचिव अशोक कोइरालाले तत्काल सौन्दर्यकरणको काम थाल्न सुझाव दिदैं नामाकरण लगायतका अन्य कामपछि सर्वदलीय सहमति र स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाईबाट गर्नुपर्नेमा जोड दिए । विकासमा एकता आवश्यक भएको भन्दै उनले शहीदहरुको शालिक र स्मृतिका लागि बृहद शहिद पार्क बनाउन सकिने धारणा समेत राखे ।
नेपाली काँग्रेसका युवा नेता सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ताले ईतिहासको सम्मान गर्नुपर्नेमा जोड दिदै तत्काल सौन्दर्यकरण गरि अघि बढ्न आग्रह गरे । उनीहरुले जनताको भावना विपरित चोकको नामाकरण नगर्न सुझाव समेत दिए ।
बैठकमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई, लक्ष्मीनारायण बर्मा, श्रवण यादवले आफुहरु विकास विरोधी नभएको भन्दै अहिलेनै चोकको नामाकरण गरेर जानुपर्ने सुझाव दिए ।
राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, दिपेन्द्रवहादुर सिंहले ईतिहास भावी पुस्ताका लागि आवश्यक पर्ने भन्दै नगरको विकासका लागि आफुहरु पार्टीगत मान्यताबाट पछि हटेर सौन्दर्यकरण गर्नुपर्नेमा सहमत भएको बताए ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, संघका प्रबक्ता टंक धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरवहादुर ओली, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उज्जलसिंह राठौर, वडा अध्यक्षहरु सुरेन्द्र गुप्ता, वीरेन्द्र शाह, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उक्त सर्वदलीय सर्वपक्षीय छलफमा सहभागिता रहेको थियो ।