बाँकेका क्वारेन्टिन ‘कोरोना उत्पादन केन्द्र’


बाँकेका क्वारेन्टिन ‘कोरोना उत्पादन केन्द्र’

नेपालगन्ज: बाँकेका क्वारेन्टिन कोरोना प्रजनन् केन्द्रको रुपमा देखिएका छन् । क्वारेन्टिनलाई ब्यवस्थित बनाउन नसक्दा एउटै क्वारेन्टिनमा बसेका १७ जनामा कोरोना देखिएको छ ।

नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका ३७ मध्ये एकै पटक १७ जनामा कोरोना पुष्टि भएको थियो । सोही क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु समेत भयो । मृत्युपछि पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको भेरी अस्पतालले बताएको छ ।

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित सामुदायिक वन क्वारेन्टिनमा बसेका पाँच जना मध्ये तीन जनामा कोरोना देखिएको थियो । नरैनापुरको जयकिसान मावि क्वारेन्टिनमा बसेका ६० मध्ये एकै पटक १४ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

नरैनापुर गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटिया क्वारेन्टिनमा रहेका मध्ये १३ जनामा कोरोना पुष्टि भएको थियो । भने जानकी गाउँपालिका–१ मा रहेका विभिन्न क्वारेन्टिनमा रहेका मध्ये ४० जनामा एकै पटक कोरोना पुष्टि भएको छ । ती सवैलाई एउटै आइसोलेशन सेन्टरमा राखिएको छ ।

बुधवार सार्वजनिक भए अनुसार कोहलपुरको ज्ञानज्योती क्वारेन्टिनको एउटै कोठामा बसेका तीन जनामा पनि कोरोना देखिएको छ । एउटा कोठमा बसेका पाँच जना मध्ये तीन जनामा कोरोना देखिएको नगर प्रमुख लुटबहादुर रावतले बताए । आरडीटी रिपोर्ट पोजेटिभ आएका युवाको स्वाब भेरी अस्पतालको प्रयोगशालामा पिसिआर प्रविधीबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको बताए ।

ज्ञानज्योती माविको क्वारेन्टिनमा बसेका कोहलपुर नगरपालिका–१२ का दुई जना संक्रमितको उमेर १८ र एक जनाको २२ बर्षका छन् । तीन जना नै भारतबाट आएका हुन् । १३ दिन क्वारेन्टिनमा बसेपछि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो ।

तीन जनामध्ये एक जनाको आरडीटी पोजेटिभ आएपछि उनीसँगै एउटै कोठामा बसेका अन्य चार जनाको २१ जेष्ठमा स्वाब संकलन गरि परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले बताए । कोहलपुरमा आरडीटी पोजेटिभ आएका थप ६ जनाको रिपोर्ट आउन अझैैँ बाँकी छ ।

योसँगै बाँके कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको छ । १९ वैशाखमा पहिलो पटक नेपालगन्जका ६० वर्षिय पुरुषमा पहिलो संक्रमण देखिएको थियो ।