संक्रमितमध्ये थप २२ जना निको भएर घर फर्किए
नेपालगन्जः पछिल्लो पटक कोरोना भाइरसको केन्द्रविन्दु कर्णाली प्रदेश देखिएकोछ । कर्णाली प्रदेशमा शुक्रबारमात्रै थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगैं यहाँ कोरोना भाइरस संक्रमितको संख्या ८ सय ४६ पुगेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा आज शुक्रबार कोरोना भाइस संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।
यकातिर दिनहुँ ठूलो मात्रामा कोरोना भाइरस संक्रमण देखिएको कर्णाली प्रदेशमा कोरोनालाई हराउनेको संख्या पनि दिनानुदिन बढेर आएको छ । आज मात्रै कर्णाली प्रदेशका संक्रमितमध्ये थप २२ जना निको भएर घर फर्किएका छन् ।
आज डिस्चार्ज भएका सबैजना दैलेख जिल्लाका संक्रमित हुन् । यससँगै निको भएर घर फर्किनेको संख्या सो प्रदेशमा ८२ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा हालसम्म कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेकोछ । मृत्यु हुनेमा दुईजना दैलेख र एक जना सुर्खेत जिल्लाका हुन् ।