नेपालगन्ज: कोरोना रोकथाम तथा उपचारमा भएको खर्चका विषयमा देशभर आन्दोलन चर्किएपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ ।
कोभीड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सिसिएमसी निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी झण्डै १२ अर्ब रूपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो ।
जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार रहेको छ । यो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ ।
यस्तै सरकारले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ ।
यस्तै सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ । त्यसैगरी स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा बताइएको छ ।
त्यसैगरी प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।