नेपालगन्ज: भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले यसअघि नेपालका बारेमा दिएको अभिब्यक्ति सच्चाएका छन् । भारतको देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा भारतीय सेना प्रमुख नरवणेले ‘नेपाल–भारतबीच घनिष्ठ सम्बन्ध रहिआएको र भविष्यमा पनि रहिरहेने बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सालाई निशान छापमा राख्न संविधान (दोस्रो) संशोधनका लागि मतदान गर्नुभन्दा केही घण्टाअघि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले यसअघि आफूले दिएको अभिब्यक्तिलाई सच्चाउँदै यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ठ सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ ।’
यसअघि गत १५ मेमा नेपाली भूमिमा भारतले सडक बनाइरहेको विवादपछि उनले नेपाललाई कसैले उचालिरहेको छ भन्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए,‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ । त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन ।’ चीनतर्फ संकेत गर्दै उनले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको र अहिले नेपाललाई कसैले उकासिरहेको बताएका थिए ।
८ मेमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै उक्त भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको थियो । भारतले त्यसको प्रतिक्रियामा उक्त भूमि भारतकै भएको दाबी गरेको थियो ।
२० मेमा नेपालले नयाँ नक्सा जारी गर्दै ९ जुनमा निशान छापमा नक्सा परिवर्तनका लागि संविधान (दोस्रो) संशोधन विधेयक प्रस्तुत गरेको थियो ।
यतिबेला लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ ।
बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराए । अहिले छलफल जारी छ ।