संसदबाट नेपालको नयाँ नक्सा सर्वसम्मत अनुमोदन

संसदको अभूतपूर्व एकता


संसदबाट नेपालको नयाँ नक्सा सर्वसम्मत अनुमोदन

नेपालगन्ज: लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

संसदको अभूतपूर्व एकता

संसदमा रहेका सबै दल र सांसदले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का पक्षमा अभूतपूर्व एकता देखाएका हुन् । के सत्तारुढ, के प्रतिपक्ष सबै दलका सांसदले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पिाधुरा, लिपुलेक र कालापानी समावेश नेपालको नक्सामा समावेश गरिएकोमा स्वागत गरे । सो नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समाहित गर्दै संविधानमा सुरक्षित गर्न विधेयकको पक्षमा एकै लहरमा उभिए ।

२५८ सांसद उपस्थित रहेको सभामा सबैले विधेयकको पक्षमा मतदान गरे । सभामुख सापकोटाले मतपरिणाम सुनाइरहँदा प्रतिनिधिसभा बैठकमा सांसदहरुको तालीको गड्गडाहट थियो ।

भारतले आफ्नो नक्सामा समावेश गरेको र मानसरोवर जान सडकसमेत उद्घाटन गरिसकेको नेपालको भूमि फिर्ता ल्याउन सिंगो संसद एक ठाउँमा उभिएर एकताको सन्देश दिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए । राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने पनि उनले प्रष्ट पारे ।