File Photo
नेपालगन्ज: प्रस्तावित लुम्बिनी प्रदेशमा रहेका कोरोना ‘हटस्पट’ क्षेत्रमै ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा बेवास्ता गरिएको छ । बाँके प्रशासनले त यहाँको लकडाउन खुकुलो पारेको छ । दिनभरजसो बजार खुल्ला हुन थालेको छ । यसले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेको देखिएको छ ।
दैनिक भेटिने संक्रमितलाई मापदण्ड विपरितका आइसोलेसनमा राख्नेबाहेक अरू काम भएको छैन । पछिल्लो समय संक्रमितको ट्रेसिङ गर्नै छाडिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूको मात्रै स्वाब परीक्षण भइरहेको छ ।
बाँकेका विभिन्न् क्वारेन्टाइनमा मात्रै होइन हटस्पटका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकास्थित वडा नम्बर आठमा समेत कन्ट्याक्ट ट्रेसिङ नगरिएको भेटिएको छ ।
अन्य पालिकामा त झनै हुने कुरै भएन । अहिले हटस्पट बनेको कर्णाली प्रदेशको दैलेखमा पनि प्रभावकारी कन्ट्रयाक्ट टे«सिङ हुन नसकेको नारायण नगरपालिका दैलेखका मेयर रत्नबहादुर खड्का बताउँछन् ।
बाँके, बर्दियाका साथै दाङ, रोल्पा, कपिलबस्तु, रूपन्देही लगायत कर्णाली प्रदेशका दैलेख, सुर्खेत जाजरकोट, कालिकोट सहितका जिल्लामा कन्ट्रयाक्ट टे«सिङ हुन नसक्दा यी जिल्लामा कोरोना संक्रमितको संख्या अझै बढ्ने देखिएको छ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वाब परीक्षणको रिपोर्ट आउन दुई साताभन्दा बढी कुर्नुपर्छ । बाँकेको नेपालगन्जस्थित भेरी असप्ताल र सुर्खेतको प्रादेशिक अस्पतालमा पनि स्वाब परीक्षणको रिर्पोट आउन धेरै समय लाग्ने गरेको छ ।
दाङको प्रतिष्ठान र भेरी अस्पतालमा अहिले ५/५ हजारभन्दा बढी स्वाबका नमुनाको थुप्रो लागे पनि दैनिक बढीमा २ सय नमुनाको मात्रै परीक्षण भइरहेको छ । परीक्षणको प्रक्रियामा रहेका नमुनाको रिपोर्ट आउन नै २५ दिनभन्दा बढी समय लाग्ने अवस्था छ । यस्तोमा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थित गर्न कठिनाइ भएको छ । जसका कारण स्थानीय तह क्वारेन्टिनमा बसेकालाई घर पठाउने हतारोमा छन् । ट्रेसिङ लगायत जोखिम रोकथाममा चासो छैन ।
नेपालगन्ज्मा प्रशासनले बजार खोलेपछि संक्रमितसित घुलमिल भएका व्यक्ति पनि खुलेआम घुम्ने गरेकाका छन् । उपमहानगरमा कोरोना संक्रमणको त्रास उस्तै छ । उपमहानगरमै कन्ट्रयाक्ट ट्रेसिङ नहुँदा यहाँको समुदाय चिन्तामा छ । सचेत र अगुवा नागरिक यसले नराम्रो अवस्था निम्त्याउन सक्ने आँकलन गर्दै आएका छन् ।
कन्ट्रयाक्ट ट्रेसिङमा आएका समुदायका व्यक्ति सम्पर्कमा आउन नचाहेको र आफूले पनि जोरजबरजस्ती नगरेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द बताउँछन् । गाउँपालिकामा त छोडौं नगरपालिकामा पनि कन्ट्रयाक्ट ट्रेसिङको काम हुन सकेन । बाँकेमा तीनसयबढी संक्रमित पुगिसकेका छन् ।