नेपाल भित्रियो मनसुन, यसवर्ष मनसुनमा सरदर वर्षा हुने

देशभर फैलिन करिब एक हप्ता लाग्ने


नेपाल भित्रियो मनसुन, यसवर्ष मनसुनमा सरदर वर्षा हुने

नेपालगन्जः नेपालमा सामान्यतयाः (जुन १०) आर्थत जेठ २७ गतेदेखि मनसुन सुरु हुने गर्छ । तर, यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेपनि यसवर्ष दुईदिन ढिलो नेपालमा मनसुन भित्रिएको छ । यससँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ ।

गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।

१२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठका अनुसार ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आईतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठको भनाईछ ।

यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविद श्रेष्ठ बताउँछन् । सामान्यतयाः सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

बंगालको खाडीमा विकसित अंपुन चक्रवातका कारण नेपालमा मनसुन करिब एक हप्ता ढिलो भित्रिने अनुमान यसअघि मौसमविदले गरेका थिए । तर, लगत्तै अरब सागरमा अर्को चक्रवात निसर्ग विकसित भएपछि भने नेपालमा मनसुन समयमै भित्रिनेमा मौसमविद विश्वस्त थिए ।