दशकपछि मुहार फेर्दै नेपालगन्जको वाटरपार्क । तस्विरः रवि कनोजिया /सेतोखरी
नेपालगन्ज: वाटरपार्क नामै काफी छ । नेपालगन्जको धम्बोझीमा रहेको यो पार्कमा शनिबार साँझ भेटिएकी दैलेखकी लक्ष्मी प्याकुरेल निकै खुशी थिइन् । उनको मुखारविन्दुबाट आएको आवाज मेरा कानमा यसरी ठोक्कियो ‘हँ नेपालगन्जमा यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफू निकै सन्तुष्टि भएकीछु ।’
साथीसंगीसँग बेलुकाको इभिनिङ्वाकमा आएकी लक्ष्मीले भनिन् ‘एकछिन वाटरपार्क क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए यसको सुन्दरता देख्दा जेठको गर्मीमा नेपालगन्जमै रारा ताल भए झैं महशुस भयो ।’

यसलाई बाँकेको प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सके यसले वाटरपार्कको मात्रै होईन नेपालगन्जकै मुहार फर्नेमा दुईमत नभएको अर्का आन्तरिक पर्यटक जो इभिनिङवाकमै थिए सल्यानका दीलबहादुर केसी बताउँछन् ।
यी दुई त उदाहरण मात्रै हुन शनिबार साँझ वाटरपार्कमा घुम्ने, जेठको गर्मीमा बेलुकाको मन्द चिसो हावा खाने, दिनभरीको कामको बोझ र थकान मेटाउन सयौं नागरिकहरू उर्लिका थिए । तलाउमा आएको परिवर्तन र सुधारले त्यसै सुन्दर देखिएको वाटरपार्क नारिकको भीडले त ऐतिहासिक भक्तको सिद्धपोखरीकै झल्को दिएको थियो ।
सुरक्षाका हिसाबले वाटरपार्कको वरिपरि रेलिङ निर्माण छ । आसपासमा खुल्लाचोर भएकैले पनि चिसो हावा आउँछ । शनिबार साँझ यो स्तम्भकार पनि त्यहि वाटरपार्कमा करीब एक घण्टाजति टोलाएको थियो । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यकरणले एक घण्टा वितेको पत्तै भएन ।

नेपालगन्ज एक प्राचीन सहर हो । तर, यसलाई कहिकतै सपनाविहीनको सहर भनिएको छ । यसको विकासका लागि पहिलो पटक २०५० सालतिर विकासको गुरूयोजना बनेको दस्तावेजले देखाएको छ ।
त्यतिबेला बनाएको गुरूयोजना कार्यान्वयन हुन सकेन् । गुरूयोजनाले कोरेको सबैभन्दा महत्वाकांक्षी सपना थियो– ‘नयाँ टाउन प्लानिङ’ । हिजो र आज यहाँको भौतिक विकासमा सबैभन्दा ठूलो बाधक हो– ढल निकास ।
सहरलाई सुन्दर र समृद्ध बनाउन विविध योजना पनि नबनेका होइनन् । तर, ती योजना र दृष्टिकोण कार्यान्वयनमा ल्याएको देखिएन । यहाँका राजनीतिक दल र नागरिक समाज पनि विकासको मामलामा मौन बसेकै हुन् । त्यो त यहाँका केही विकासे उदाहरणले पनि प्रष्ट पारेकै छन् ।
भनिन्छ, नेपालगन्ज सम्भावनाको सहर हो । यसलाई पश्चिमको ‘गेट वे’ मानिन्छ । नेपालगन्ज टिकेकै उसको आफ्नो ईतिहासले हो भन्दा अझैं अनर्थ नहोला । यी र यस्तै कारूणीक पीडा र रोदनमा रूमलिएको, विकास तथा संरक्षणको पखाईमा वषौंदेखि दुनियाँलाई गिज्जाईरहेको योजनामध्येको एउटा हो ‘वाटरपार्क’गुरूयोजना पनि ।
अहिले त्यहि दुनियाँको हाँसो पात्र वाटरपार्क निर्माण पुरा हुने संघारमा छ । यतिबेला वाटरपार्कमा सौन्दर्यीकरण वा यसको पुनरूप दिने काम चलिरहेको देखिएको छ । १३ वर्ष पुरानो हो यो योजना । ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा वाटरपार्क रहनेछ । बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइन छ ।

वाटरपार्कको १० बिघा तलाउले ओगटेको छ । तलाउलाई डुङ्गा बिहार र पौडी पोखरीका रूपमा विस्तार हुँदैछ । पार्कमा आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिदैँछ । वाटरपार्क बरिपरि पक्की सडक निर्माण छ । जसले यस क्षेत्रका नागरिकलाई विहान बेलुको मर्निङवाक मात्र नभई युगलजोडीको डेटिङस्पटका रूपमा भोली पहचिान बनाउँने देखिन्छ ।
उक्त योजना २०६५ मा शुरू भएको थियो । विविध कारणले अहिलेसम्म योजनाले पूर्णता पाउन नसकेको यथार्थ हो । स्थानीय तहको निर्वाचनपछि प्रमोद रिजालले यस वडाको जनप्रतिनिधीका रूपमा आफूलाई उभाए । यो वडा उपमहानगरको एक नम्बर वडा हो ।
उपमहानगरपालिकासँगको पहलकदमीकाबीच अहिले उक्त वडामा रहेको पुरानो तथा ऐतिहासिक पर्यटकीय गुरूयोजनाले रूप फेर्दै छ ।
शहर भित्रको शहर ‘न्यू सिटी’ बनाउँने अर्को योजनाले त वाटरपार्कको महत्व अझै बढाउँने देखिएको छ । सिटी कस्तो बन्ला ? अहिले आम बाँकेबासीको चासोको बिषय बन्दै गएको छ ।
वाटरपार्क क्षेत्र शहरीकरण हुँदैछ । दशक अघिको अलपत्र योजनाले अहिले सार्थकता पाउँदै छ । २०६४ सालमा बस्ती विकासका लागि वाटरपार्क जग्गा एकीकरण शुरू भएको दस्तावेजमा उल्लेख छ ।

वाटरपार्क निर्माण अन्तिम चरणमा देखिएकोछ । बहुप्रतिक्षित ‘वाटरपार्क’ यहाँको पहिचान नै बदलिनेमा दुईमत छैन् । शहरको आर्थिक समृद्धि र विकासमा यो कोसेढुंगा साबित हुने निश्चित छ ।
वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण हुनेछ । नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने उपमहानगरपालिका वडा नम्बर एकका अध्यक्ष प्रमोद रिजालले यसअघि नै बताएका छन् ।
गुरूयोजनाका साथ अघि बढेको वाटरपार्कलाई बोटिङ्ग विहार बनाऔं ।
प्राकृतिक सौन्दर्य बढाउँदै पर्यटन प्रर्बद्धनका हिसाबले अघि बढौं आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गरौं । वाटरपार्कमा रहेको तालमा माछा पालेर आम्दानीको स्रोत बढाऔं । तालमा माछा हालेर पर्यटकलाई थप आकर्षको केन्द्र बनाऔं । ताल तथा आसपासमा बनाईने संरचना र बगैंचा हेरचाहका जनशक्ति खटाऔं । वाटरपार्क घुम्न सामान्य दिनमा झैँ दैनिक हजारौं प्रकृतिप्रेमी आउने वातावरण बनाऔं । वाटरपार्कमा नुहाउन, लुगा, धुन, फोहोर फाल्न अहिलेदेखि नै निषेध गरौं । यसको संरक्षण गरौं । जयहोस् ।