File Photo
नेपालगन्जः आगामी असार ७ गते सूर्यग्रहण लाग्दैछ । नेपालबाट असार ७ गते सूर्यग्रहण देखिनेछ । यो ‘वलय सूर्यग्रहण’ हो । तर, पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।
सामान्य अवस्थामा सूर्यलाई नाङ्गो आँखाले हेर्नु हुदैन भने सूर्यग्रहणका बेला सोझै हेरिनु घातक हुन्छ । सोझै सूर्य वा सूर्यग्रहणलाई हेर्दा आँखाको ज्योती गुम्नसक्छ । सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको चस्मा लगाएर हेर्नुपर्ने चिकित्सक तथा खगोविद् बताँउछन् ।
यसपटक असार ७ गते लाग्ने सूर्यग्रहण नेपालको अन्य भागमा पूर्णरुपमा नदेखिएपनि नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै अर्थात ९८ प्रतिशतसम्म सूर्य ढाकिएको हेर्न सकिनेछ । यस्तै काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद् जयन्त आचार्य वताउँछन् ।
असार ७ गते नेपालमा विहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिनेछ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।
यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशी, सिंहराशी, कन्याराशी तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरू भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर, सूर्यग्रहण नांगो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनु पर्ने खगोलविद्हरु बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरु सूर्य, चन्द्र र पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् ।