आजबाट देशभरका सरकारी कार्यालय खुला

दुई सिफ्टमा सेवा, बाँके प्रशासनको यस्तो तयारी


आजबाट देशभरका सरकारी कार्यालय खुला

नेपालगन्ज: कोरोना भाइरस संक्रमण महामारीबाट सिर्जित असहज परिस्थितीमा लागेको बन्दाबन्दीका बीच आज देशभरका सरकारकाी कार्यालय खुला गरिदैंछ ।

देश बन्दाबन्दी भएको ८४ औं दिनमा देशभरका सबै सरकारी कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।

बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन् ।

यसबीच बाँके प्रशासनले आईतबार एक सूचाना सार्वजनिक गर्दै असार १ गतेदेखि असार २१ गतेसम्म बाँकेका सम्पूर्ण सरकारी कार्यालय खुला गरिएको जनाएकोछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले दुई सिफ्टमा आफ्नो सेवा दिने भन्दै पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म प्रशासन खुल्ला रहने जनाएकोछ ।

प्रशासनले जारी गरेको सूचनामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयमा अबदेखी टोकन सिस्टम लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न चाहने ब्यक्तिले अनिवार्य रुपमा टोकन लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै कार्यालयमा आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा सामाजिक दूरी कायम गर्दै, मास्कको प्रयोग गरेको हुनुपर्ने, कार्यालय परिसरमै साबुन पानीले हात धुनुपर्ने नियम अनिवार्य पालना गर्नुपर्नेछ ।

लकडाउनकाबीच खुला गरिएको बाँकेका सरकारी कार्यालयमा पहिलो दिनको पहिलो सिफ्टमा सेवा ग्राहीको उपस्थित न्यून पाइएकोछ । विहानैदेखि नेपालगन्ज लगायत आसपासका क्षेत्रमा वर्षा भइरहेकोले पनि सेवाग्राही कार्यालय सम्म नआएका हुन् ।