नेपालगन्ज: नेपालगन्ज उद्योग बाणिज्य संघले स्थानीय सरकारसँग सहयोगको याचना गरेको छ । लामो समयसम्म जारी लकडाउनले ब्यापार, ब्यवसाय धरापमा परेको भन्दै संघले नेपालगन्ज उपमहानगरपालिकासँग व्यवसायीक र घरबहाल कर छुटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
लामो समयदेखि उद्योग, व्यवसाय ठप्प भए पनि संघीय सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत घोषणा नगरेको भन्दै यहाँका ब्यवसायीले स्थानीय सरकारको अभिभावकत्व खोजेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणालाई भेटेर संघका अध्यक्ष मन्सुरीले पश्चिम क्षेत्रको आर्थिक केन्द्रको रुपमा रहेको नेपालगन्जको साख जोगाई राख्न स्थानीय सरकारसँग घरबहाल र व्यवसायीक करमा छुट दिन माग गरे ।
उनले कोरोना संक्रमण रोक्न लकडाउन गरिएको झण्डै तीन महिना बित्दा समेत राज्यको तर्फबाट कुनै राहत घोषणा नहुनु दुखद भएको बताए ।
लामो समयसम्म पसल, ब्यवसायमा ताला झुण्डिएको छ । यतिबेला न त ब्यापार न कुनै आम्दानीको स्रोत नै छ,’ संघले बुझाएको ज्ञापनपत्रमा अगाडी भनिएको छ, तर तिर्नुपर्ने राजश्वका लागि सरकारले पटक–पटक ताकेता गर्दा मर्माहत भएका छौँ ।’
बैंकको ब्याज, घरधनीको घरभाडाका लागि साँझ, बिहान कचकच सुन्न बाध्य भएको बताउँदै अध्यक्ष मन्सुरीले लकडाउनको असर उद्योगी व्यवसायीलाई झेल्नै नसकिने समस्या भएको बताए ।
संघले स्थानीय तहका तर्फबाट व्यवसायीक र घरबहाल करमा शतप्रतिशत छुट दिन माग गरे । घरबहाल र व्यवसायीक करमा छुट प्रदान गरि कोरोनाको महामारीबाट मर्माहत भएको उद्योग, व्यवसायलाई मल्हम लगाउन माग गर्दछौँ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मेयर डाक्टर राणाले उद्योगी, ब्यवसायीको पीरमर्का आफूले पनि बुझेको बताउँदै कार्यपालिका बैठकमा छलफल गरि राहतको प्याकेज ल्याउने आश्वासन दिए ।
उनले लकडाउनका कारण उपमहानगरको राजश्व संकलन घटेको बताउँदै तै पनि समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जनाए । ज्ञापनपत्र बुझाउन संघका उपमहासचिव धर्मराज अर्याल, प्रवक्ता टंकबहादुर धामी लगायतको उपमहानगरपालिकाको कार्यालय पुगेका थिए ।