कोरोनाको लुकामारी : कहिले घट्ने, कहिले बढ्ने

पाँच दिनमा दुई हजार फेला परे


कोरोनाको लुकामारी : कहिले घट्ने, कहिले बढ्ने

नेपालगन्ज : कोरोना भाइरस नियन्त्रणमा सक्रिय सरकारले हाल देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिरहेकोछ । देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् ।
तर, नेपालको पछिल्लो कोरोना भाइरस रिपोर्टको तथ्यांक हेर्दा कोरोना भाइरसले लुकामारी खेलेको जस्तो पाइएकोछ । यकातिर सरकारले दिनहुँ कोरोना परीक्षणलाई तिव्रता दिएको छ भने अर्कोतर्फ कोरोना संक्रमितको दर कहिले घट्ने त कहिले बढ्ने पाइएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो पाँचदिनको तथ्यांकलाई नियाल्दा कोरोनाले लुकामारी खेलेको प्रष्ट हुन्छ । मन्त्रालयले वितेको यो हप्ताको शुक्रबार सार्वजनिक तथ्यांक अनुसार देशमा ४ सय ४८ सहित नेपालमा कोरोना भाइरस संक्रमित फेला परेकाछन् । यस्तै शनिबार २ सय ७३ जना कोरोना पोजेटिभ भेटिएकोमा आईतबार १ सय ५२ ले बढि अर्थात ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

यस्तै हिजो सोमबार एकैदिन ४ सय ५५ जना थप संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ भने आज मात्रै यो दर घटेर ३ सय ८० जनामा सिमित रहन गएकोछ । यी पाँच दिनको तथ्यांक हेर्दा देशभर १ हजार ९ सय ८१ जनामा कोरोना भाइरस पाइएको हो ।

मङ्गलबार नेपालमा थपिएका नयाँ संक्रमित संख्या ३ सय ८० सगैं नेपालमा कोरोना संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेकोछ । यो तथ्यांकलाई मूल्यांकन गर्दा नेपालमा जति धेरै कोरोना परीक्षण गरियो त्यती धेरै संक्रमित भेटिने प्रष्ट देखिएकोछ ।

हालसम्म नेपालभर १ हजार १ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् । भने कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको प्रकोप नेपालमा ७३ जिल्लामा फैलिएकोछ ।