डाक्टरहरु भन्छन् : कुनै सेफ्टी छैन, यसरी अस्पताल चलाउनु भन्दा बन्द गरियोस्
File Photo
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा यतिखेर सन्त्रास छाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको कोरोनाबाट मृत्यु भएपछि अस्पतालमा सन्त्रास छाएको हो ।
निमोनियाले ग्रसित ती महिलालाई जेठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार २ गते बेलुका ६ बजे उनको मृत्यु भएको थियो । मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ आएपछि कोहलपुर मेडिकल कलेजमा स्वास्थ्यकर्मी र कर्मचारीहरु अत्तालिएका छन् । आईसियुमा कोरोना लागेकी बिरामी र अन्य विरामी सँगै राखिएको थियो । आइसियूमा उनलाई प्रयोग गरेको सामग्रीहरु अरुलाई पनि प्रयोग गरिएको थियो ।
अस्पताल व्यवस्थापनले गम्भिर लापरबाही गरिरहेको भन्दै चिकित्सक, नर्स र अन्य कर्मचारीहरु आक्रोशित भएका छन् । कोहलपुर मेडिकल कलेजका आधा दर्जन चिकित्सकहरुले सेतोखरीलाई फोन गरेर अस्पताल व्यवस्थापनले कार्यरत स्वास्थ्यकर्मीमाथि कुनै सेफ्टी नअपनाएको र अस्पताल भित्र भद्रगोल रहेको बताए ।
मेडिकल कलेजका चिकित्सक, नर्स अन्य सहयोगी क–कसलाई कोरोना सर्यो केही थाहा छैन । मेडिकल कलेजले आफ्ना कर्मचारीमाथि अत्याचार गरेको भन्दै सबैमा डर, त्रासमा रहेकोले अब अस्पताल विरुद्ध मैदानमा उत्रने कर्मचारीहरुले बताए ।
पालैपालो फोन गर्दै चिकित्सकहरुले आफुहरुको पिडा बाहिर ल्याइदिन अनुरोध गरे । ‘यो अस्पतालमा जस्ले जे गरे नि हुन्छ कुनै मतलब छैन । न समयमा तलब दिन्छ न स्वास्थ्यकर्मीको सेफ्टी छ । कोरोना फैलिरहेको छ, अस्पतालमै कोरोना विरामीको मृत्यु भइरहेको छ तर, अस्पताल व्यवस्थापनलाई कुनै मतलब छैन ।’ ती चिकित्सकहरुले भने ‘उपचारमा आउने बिरामीमाथि पनि खेलवाड भइरहेको छ, हामी चिकित्सक, नर्स सबै स्वास्थ्यकर्मीमाथि पनि खेलवाड भइरहेको छ । यो भद्रगोल तरिकाले अस्पताल चलाउनु भन्दा बरु बन्द गरे हुन्छ ।’
विरामीको उपचार गर्दा प्रयोग गर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले नदिरहेको उनीहरुले बताए । नेपालगन्ज मेडिकल कलेजमा अस्पताल सररफाई गर्ने कर्मचारीलाई मास्क समेत दिएपछि उनीहरु मङ्गलबार आन्दोलनमा उत्रिएका थिए ।
कोरोनाबाट मृत्यु भएकी ती महिलाको उपचारमा संलग्न चिकित्सकले कोरोनाबाट मृत्यु भएकी ती महिलालाई प्रयोग गरिएका मेडिकल सामग्रीहरु अन्य विरामीलाई प्रयोग गरिदिएर अस्पताल व्यवस्थापनले गम्भीर लापरिबाही गरेको बताए ।
‘जुन सामान कोरोना लागेकी महिलाई प्रयोग भयो त्यो सामान अरु बिरामीलाई पनि प्रयोग भयो, जो जो स्टाफले ती महिलाई छोएका छन्, हेरेका छन्, ती स्टाफ त सधैं आफ्नो घर गए ।’ इमेरजेन्सी विभागका एक चिकित्सकले भने ‘कोरोना लागेकी महिलाई मुखमा प्रयोग गरेको वाफ लिने मास्क अरुलाई पनि त्यहि प्रयोग गरियो, ती महिलाई प्रयोग गरेको बेडसिटदेखि अन्य मेडिकल सामग्री अन्य बिरामीलाई पनि प्रयोग भयो । मेडिकल कलेजले एक त तलब दिएको छैन त्यसमा पनि हाम्रो सुरक्षाको प्रत्याभुती भएन ।’
मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले अब आफुहरु चुप लागेर नबस्ने आन्दोलनमा उत्रने बताए । उनीहरुले सबै खाले बिरामीहरुलाई एकै तरिकाले भद्रगोग बनाएर राखेको बताए ।
यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । अस्पतालका सहायक निर्देशक नितेश कनोडियाको मोबाईल सम्पर्क हुन सकेन् ।