नेपालगन्ज : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणमा निस्किएका छन् ।
भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्नेछ ।
आज बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी प्रस्थान गरेको र त्यहीबाट सेनाकै एमआई–१७ हेलिकप्टरमा कालापानी क्षेत्रमा प्रधानसेनापति र सशस्त्रका आईजीपीको टोली जानेछ ।
छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बीओपी व्यास गाविसमा पर्छ । व्यास गाविसमै कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत पर्छ । दुई सुरक्षा प्रमुखको सो क्षेत्रको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि मात्रै नेपालको संसदबाट लिम्पियाधुरासमेत समेटेको नयाँ नक्सा पास भएको थियो ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।