मेडिकल कलेजका स्वास्थ्यकर्मी क्वारेन्टाइनबाट भागे


सेतोखरी सेतोखरी   बुधबार, असार ३, २०७७
मेडिकल कलेजका स्वास्थ्यकर्मी क्वारेन्टाइनबाट भागे

 

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजका चिकित्सक सम्मिलित स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनबाट भागेका छन् । बाँके बैजनाथ गाउँपालिकाकी एक महिलाको मंगलबार कोरोनाबाट मृत्यु भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेका चिकित्सक सहित आधा दर्जन स्वास्थ्यकर्मीलाई रातीनै कलेजको चिसापानी स्थित भवनमा पठाइएको थियो ।

कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी कोरोना पोजेटिभ ती महिला सुरुमा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा इमेरजेन्सीमा भर्ना भएकी थिइन् । पछि अस्पतालले उनलाई कोहलपुर रिफर गरेको थियो । नेपालगन्जमा भर्ना भएका बेला ती महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी सबैलाई मेडिकल कलेज प्रशासनले मंगलबार राती नै गाडीमा लिएर चिसापानी स्थित आफ्नै भवनमा क्वारेन्टाइन गरी राखेको थियो ।

तर अव्यवस्थित र बस्न लायक कोठा नभएपछि क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीहरु त्यहाँबाट निस्केर आ आफ्नो घर गएका छन् । ‘मेडिकल कलेज प्रशासनले सुरुमा विरामीको उपचार गर्दा गर्दै कसैलाई कारोना देखियो भने होटलमा लगेर व्यवस्थित तरिकाले राख्ने छौं भनेको थियो । अहिले त हामीलाई लगेर एउटै कोठामा अव्यवस्थित तरिकाले कोचेर राख्यो । बस्न नसकेपछि हामी घर फर्कियौं ।’ क्वारेन्टाइनबाट घर फर्किएका एक जना स्वास्थ्यकर्मीले भने ।