कुल संक्रमित ७१७७, मृत्यु २० र डिस्चार्ज ११६७
नेपालगन्ज : बुधबार नेपालमा एकैदिन ५८६ जना कोरोना संक्रमित थपिएकाछन् । एकदिनमै ठूलो मात्रामा संक्रमित भेटिएको यो दर अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमित दर हो ।
पछिल्लो २४ घण्टायता नेपालमा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसगैं नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
देशभरका २२ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिएको हो । यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालको पछिल्लो कोरोना संक्रमित आँकडा अनुसार सोमबार एकैदिन ४ सय ५५ संक्रमित थपिएका थिए भने मंगलबार ३ सय ८० जना संक्रमित थपिएका थिए । त्यसको ठिक एकदिनपछि आज बुधबार ठूलो मात्रामा ५ सय ८६ जना संक्रमित थपिएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । हालसम्म एक हजार १ सय ६७ संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् ।
यस्तै देशभर हालसम्म एक लाख ४९ हजार ७ सय ७२ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ३३ हजार ५ सय ४३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।
त्यसैगरि देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख २५ हजार ६ सय ५८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ९ सय ९० कोरोना संक्रमितहरु रहेका छन् ।