तपाईलाई थाहा छ पृथ्वीमा सबैभन्दा स्वच्छ हावा कहाँ पाइन्छ ?


तपाईलाई थाहा छ पृथ्वीमा सबैभन्दा स्वच्छ हावा कहाँ पाइन्छ ?

नेपालगन्ज : तपाईलाई थाहा छ ब्राह्मण्डमा स्वच्छ हावा कहाँ पाइन्छ ? यो जिज्ञासासहितको प्रश्न यहाँहरुले पढ्दै गर्दा लाग्दो हो कस्तो खालको प्रश्न हो यो ? एकछिन के भन्न लागेको होला भनेर चकित अवश्य हुनुभयो । पृथ्वीको जहाँतहीँ स्वच्छ हावा छ त्यसैले त हामी मनुष्य लगायत सबै जीवजन्तु जीवित छौं भन्ने पनि लागेको होला । या यी र यस्तै विभिन्न थरीका जिज्ञासा आइरहेको होल ती सबै सही छन् ।

हो यो कुरा सत्य हो । तपाई हामीले प्रयोग गरिरहेका हावा (वायु) भन्दा पनि स्वच्छ हावा यही धर्ती अर्थात पृथ्वीको कुनै एक स्थानमा पाइन्छ । यसो भन्दा झसङ्ग हुनुभयो हैन ।

अब तपाईहरुलाई यसको बारेमा जानकारी दिन चाहान्छु । पहिलोपटक वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा स्वच्छ हावा भएको ठाउँ पत्ता लगाएका छन् । जहाँको वायु मानव गतिविधिका कारण उत्पन्न फोहोरका कणहरुरहित भएको बताइएको छ । सो क्षेत्र एन्टार्टिकाको आसपासमा दक्षिण समुद्रतर्फ अवस्थित रहेको उनीहरुले बताए ।

कोलोराडो स्टेट युनिभर्सिटीका खोजकर्ताहरुका अनुसार यो यस प्रकारको पहिलो अध्ययन हो । उनीहरुका अनुसार सो ठाउँ प्राचीन समयदेखि जस्ताको त्यस्तै छ र मानव क्रियाकलापबाट कुनै रुपमा प्रभावित वा परिवर्तित भएको छैन ।

पछिल्लो समय मान्छेकै कारण बृद्धि भएको जलवायु परिवर्तन प्रकृयाले पृथ्वीका विकट र सुनसान क्षेत्रमा समेत वातावरणीय असरबाट बच्न सकेको छैन जसकारण पूर्ण रुपमा प्राकृतिक र मान्छेबाट हानी नपुगेका ठाउँ खोज्न विज्ञहरुले ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ । तर, प्रोफेसर सोनिया रउनको टोलीले पृथ्वीमा जतिसुकै धुँवाधुलो भएपनि दक्षिण समुद्रतर्फको हावा केही फरक भएको शंका गरि परीक्षण गरेका हुन् ।

यसपछि नै उनीहरुले दक्षिण समुद्री क्षेत्रस्थित तल्लो सतहको हावा पूर्णरुपमा ‘एरोसोल कण’ रहित भएको पत्ता लगाएका हुन् । एरोसोल कण मानव क्रियाकलाप जस्तै, काठदाउरा बाल्ने, इन्धनजन्य धुँवाको, खेतीपाती, किटनाशकको उत्पादन र फोहोर पानी व्यवस्थापन लगायतका कारण उत्पन्न भइरहेको हुन्छ । एरोसोलले नै वायु प्रदुषण गराउँछ जसमा ठोस र तरल पदार्थका साथै ग्यास पनि हावामा छाडिएका हुन्छन् ।

यसमा अनुसन्धानकर्ताहरुले तल्लो वायुमण्डल सतहमा हावाका विशेषताबारे बुझ्न ब्याक्टेरियाको प्रयोग गरेका हुन् । त्यहाँको अति स्वच्छ हावामा के छ, कहाँबाट आएको हो भन्ने जस्ता गुणबारे थाहा पाउन उनीहरुले थप अनुसन्धान गरे ।

यसपछि दक्षिण समुद्र तर्फको हावामा एरोसोल नहुनु पछाडिको कारण समुद्रको जैविक प्रक्रिया रहेको प्रमुख अध्ययनकर्ता थोमस हिल बताउँछन् । अन्टार्टिकाको सो ठाउँ सुक्ष्मजीवहरुबाट धेरै अलग रहेको उनले बताए । यसरी दक्षिण समुद्र पृथ्वीका ती दुलर्भ ठाउँहरुमा पर्दछ जहाँको वातावरण मान्छेका कारण कुनैपनि रुपमा प्रभावित भएको छैन ।

गत सोमबार ‘जर्नल प्रोसिडिङ्स अफ द नेस्नल एकेडेमी अफ साइन्सेस’ मा प्रकाशित यस अध्ययनलाई वैज्ञानिकहरुले वास्तविकमै आश्चर्यजनक बताएका हुन् ।

किनकि वायु प्रदुषण अहिले विश्वव्यापी स्वास्थ्य संकटमा परिणत भइसकेको छ जसका कारण वर्षमा ७० लाख मान्छेको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । साथै वायु प्रदुषण उत्पन्न भएको ठाउँबाट धेरै टाढा टाढासम्म पनि पुग्ने गरेको हुनाले पनि उनीहरुले आश्चर्य जनाएका हुन् ।

यो खोजले अर्को एउटा कुरा के पुष्टि गर्छ भने मानव बस्तीसगैं हुने मानवीय गतिविधिका कारण त्यसआसपास क्षेत्रको वायु (हावा) दुषित हुने गरेकोछ । पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण विश्व लगभग बन्दाबन्दीकै अवस्थामा छ । अधिकांस देश बन्दाबन्दीका कारण सवारी आवागमन, उद्योग, कलकारखाना तथा मानवीय गतिविधी ठप्प झैँ बनेको छ । यसले गर्दा पृथ्वीमा समेत नयाँपन आएको विज्ञहरु बताउँछन् ।

अझ पातलिदै गएको हाम्रो ओजन तह पनि पुरिदैं गएकाले पृथ्वी रिकभर (सुधार) भइरहेको भन्दै विज्ञहरुले खुसी समेत ब्यक्त गरेकाछन् । तर, अहिले कोरोनाको महामारीका कारण ठप्प मानवीय जनजिवन तथा गतीविधी बन्दाबन्दी खुलेसगैं बढ्ने हुदाँ सुधारिएको पृथ्वीको अवस्था पुनः पहिलेकै अवस्थामा फर्किन सक्नेछ । त्यसैले आफू र आफ्नो वरीपरिको पर्यावरण सफा स्वच्छ राख्न हामी सबैको जिम्मेवारी हो । दायित्व हो । यसैमा मानवजगतसगैं पृथ्वीलोकको अस्तित्व रहेकोछ ।