कोरोनाबाट कहिले–कति जनाको मृत्यु भयो ?

२२ मध्ये १६ जनाको मृत्यपछि मात्रै कोरोना पुष्टि


कोरोनाबाट कहिले–कति जनाको मृत्यु भयो ?

नेपालगन्ज : यतिखेर नेपाल बन्दाबन्दीको ८८ औं दिनमा प्रवेश गरेकोछ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ७२ पुगेको छ । हिजो बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् । योसगैं हिजो बिहीबारसम्म थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्मको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको जानकारी दिए ।

यद्यपी कोरोना संक्रमणबाट मृत्यु हुने २२ जनामध्ये १६ जनाको मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । भने ६ जनाको मात्रै कोरोना संक्रमण भएको थाहा पाइसकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य मुलुककमा कोरोना संक्रमण पत्ता लागिसकेपछि उपचारका क्रममा मृत्यु हुनेको संख्या धेरै छ भने नेपालमा भने मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि हुने संख्या अधिक देखिएको हो । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये ७२ प्रतिशतभन्दा धेरैले मृत्युपछि कोरोना पुष्टि गरिएको हो ।

कोरोनाबाट कहिले कति जनाको मृत्यु भयो त्यसको विस्तृत विवरण यस्तो छ ।

सिन्धुपाल्चोक

गत जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी थिइन् । उनी नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने पहिला व्यक्ति थिइन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको घोषणा जेठ ३ गते गरेको थियो ।

ती महिला काठमाडौंको टोखा ९ बाट वैशाख २३ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डेलिभरी हुन भर्ना भएकी थिइन् । उनले वैशाख २४ गते शिशुलाई जन्म दिएकी थिइन् । उनलाई वैशाख २५ गते अस्पतालले डिस्चार्ज गरेको थियो । तर, डिस्चार्ज भएर घर गएपछि उनलाई ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानिय अस्पतालमा गएकी थिइन् । तर, त्यहाँ उनलाई कोरोना भाइरसको आशंकामा धुलिखेल अस्पताल पठाएको थियो । अस्पतालमा ल्याउँदै गर्दा जेठ १ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

बाँके

बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएको थियो । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो । ४ गते बिहान ६ बजेर ४० मा मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । वैशाख ३० गते ती पुरुष भारतबाट आएका थिए ।

उनी नरैनापुर गाउँपालिका ५ स्थित भोज भगवानपुरस्थित क्वारेन्टिनमा बसेका थिए । तर, ती पुरुषको स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । कोरोना परीक्षणको रिर्पोट आउनुभन्दा अघि नै ती पुरुषको ज्यान गएको थियो । तर, जेठ ४ गतेकै दिन दिउँसो स्वास्थ्य मन्त्रालयले उनको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको थियो ।

गुल्मी

गुल्मी मदाने गाउँपालिका धुर्कोटका ४१ वर्षका पुरुषको जेठ ८ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ती व्यक्तिलाई ज्वरो र जन्डिसको समस्या देखिएपछि जेठ १ गते रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालको भेन्टीलेटरमा भर्ना भएका थिए ।

जेठ २ गते भैरहवा अस्पतालका प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षणका अस्पताल पठाएको थियो । तर, नमुना परीक्षणको रिर्पोट जेठ ५ गते कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको थियो । उनको जेठ ८ गते अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । ती पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने तेस्रो व्यक्ति थिए ।

बारा

जेठ ४ गते बारा कलैया ७ का ७० वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । जेठ ३ गते नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरे नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरेको थियो । तर, त्यहाँ कोरोना पोजेटिभ देखिएपछि थप परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । तर, जेष्ठ १२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ती ७० वर्षका जेष्ठ नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने चौथो व्यक्ति हुन् ।

ललितपुर

ललितपुर महानगपालिका बुङ्मती–२२ का ५६ वर्षका पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषको जेष्ठ १४ गते ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

उनी कलेजोसम्बन्धी समस्या देखिएर जेठ ११ गते अस्पताल भर्ना भएका थिए । जेठ १२ गते आइसीयूमा सारिएको थियो । सोही दिन नमुना संकलन परीक्षणका लागि पठाएको थियो ।

उनलाई कोरोना पोजेटिभको रिर्पोट जेठ १४ गते आएको थियो । तर, मन्त्रालयले १५ गते ती पुरुषमा कोरोना संक्रमण देखिएको मृत्यु भएको पुष्टि गरेको थियो । उनी कोरोना भाइरसबाट मृत्यु हुने पाँचौं व्यक्ति हुन् ।

अर्घाखाँची

अर्घाखाँची भुमिकास्थान नगरपालिकाका ३५ वर्षको पुरुषको जेष्ठ १० गते मृत्यु भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको जेठ १६ गते जानकारी दिएको थियो । भारतबाट आउने क्रममा उनको सीमामा मृत्यु भएको थियो । उनको स्वाब जेठ ११ गते संकलन गरेर रुपन्देहीको प्रयोगशालामा परिक्षण गरिएको थियो । उनको कोरोना परीक्षणको रिर्पोटमा पोजेटिभ देखिएको थियो । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने छैटौं व्यक्ति हुन् ।

दैलेख

दैलेखको दुल्लु नगरपालिका ७ का ३५ वर्षका पुरुषको जेठ १७ गते ज्यान गयो । उनी भारतबाट आएर स्थानीय विधुत प्राधिकरणको क्वारेन्टिनमा बसेका थिए । उनको क्वारेन्टिनमै मृत्यु भएको हो । ती पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ १८ गते अथार्त मृत्यु भएको दोस्रो दिन मात्र जानकारी दिएको थियो । उनी कोरोनाबाट ज्यान सातौ व्यक्ति थिए ।

बाजुरा

बाजुराकी दुई वर्षकी बालिकाले कोरोना भाइरस (कोभिड १९)बाट ज्यान गुमाइन् । जेष्ठ १० गते भारतबाट बुबा आमासँग नेपाल आएकी थिइन् । उनी स्थानीय क्वारेन्टिनमा बसेकी थिइन् । ती बालिकालाई क्वारेन्टिनमा रहँदा ज्वरो स्वासप्रश्वासमा समस्या र झाडापखाला देखिएको थियो ।
जेष्ठ १५ गते बाजुरा अस्पताल भर्ना गरिएको थियो । १६ गते स्वाब सेती प्रादेशिक अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । जेष्ठ १८ गते बिहान ती बालिकाको उपचारको क्रममा ज्यान गएको थियो । उनको कोरोना परीक्षणको रिर्पोट पनि पोजेटिभ आएको जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ती बालिका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने आठौं केस थिइन् ।

दोलखा

दोलखाका ७६ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । जेष्ठ १३ गते सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा मतिष्कघात भएर अस्पताल भर्ना भएका थिए ।

उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उनको मतिष्कघातको शल्यक्रिया गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ्) मा रिफर गरिएको थियो । सोही अस्पतालको आइसियुमा उपचारकै क्रममा जेठ २१ गते ज्यान गएको थियो ।

पाल्पा

जेठ २० गते पाल्पाका ४५ वर्षका पुरुषको मृत्यु भएको थियो । पाल्पाको पूर्वखोला गाउँपालिका मिसन अस्पतालमा उपचाररत उनी मृत्यु भएको थियो । भारतबाट गत जेठ १५ गते आएका थिए । उनी स्थानीय क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहँदा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उनी जेठ १८ गते पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नै भएको जेष्ठ २२ गते मन्त्रालयले जानकारी दिएको थियो । उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १० औँ व्यक्ति थिए ।

सुर्खेत

सुर्खेतका पञ्चपुरीका १८ वर्षका पुरुषको जेठ २२ गते मृत्यु भएको थियो । जेठ ८ गते भारतबाट नेपाल आएका थिए । उनी १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनलाई क्वारेन्टिनमा बस्दा कुनै संक्रमणको लक्षण देखिएको थिएन । घर जानुभन्दा अघि उनको क्वारेन्टिनमा स्वास्थ्यकर्मीहरुले आरडीटी परीक्षण गरेका थिए । तर, त्यसमा नेगेटिभ देखिएको थियो ।

उनी घर गएका थिए । तर, उनको सोही दिनै मृत्यु भएको थियो । तर, मृत्युपश्चात आएको परीक्षणको रिर्पोटमा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ११ औं व्यक्ति थिए ।

डोल्पा

डोल्पाका ५८ वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । जेठ २१ गते विहानको २ वजे क्वरेन्टिनमै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । १८ गते क्वारेन्टिननमा रहेका थिए । उनी दम रोगका बिरामी थिए । उनको कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

उनको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २४ गते मात्र जानकारी दिएको थियो । ती पुरुष कोरोनबाट ज्यान गुमाउने १२ औँ व्यक्ति थिए ।

धनगढी

धनगढी ४ का ५५ वर्षकी महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जेठ २३ गते सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलासिस गदैगर्दा ति महिलाको मृत्यु भएको थियो । मृत्यु पश्चात ती व्यक्तिको स्वाब झिकेर परीक्षण गरिएको थियो । जसमा कोरोना पुष्टि भएको थियो । यो केस सँगै मृत्यु हुनेको संख्या १३ पुगेको थियो ।

स्याङ्जा

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ३ का वर्ष ५८ का पुरुषको पनि कोरोना भाइरसकोस संक्रमणबाट मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जेठ २६ गते ती पुरुषमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका थिए । उनी कोरोना भाइरसबाट मृत्यु हुने १४ औं व्यक्ति थिए ।

चितवन

चितवन भरतपुर ११ का ६८ वर्षको पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषमा जेठ २६ गते कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि भरतपुर अस्पतालको आईसीयूमा उपचाररत थिए । उनको उपचारकै क्रममा जेठ २७ गते बिहान मृत्यु भएको थियो । ती पुरुष कोरोना भाइरसको संक्रमणबट ज्यान गुमाउने १५ औँ व्यक्ति थिए ।

अर्घाखाँची

अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । उनी भारतको महाराष्ट्रबाट गत जेठ १८ गते नेपाल आएका थिए । उनी नेपाल आएर अर्घाखाँची मालारानी ४ का सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लगिएको थियो ।

उपचारपश्चात फर्किने क्रममा बाटोमा नै मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालमा पठाइएको थियो भने जेठ २९ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । मन्त्रालयले ती पुरुषको कोरोना संक्रमण देखिएको जेष्ठ ३० गते पुष्टि गरेको थियो । उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १६औं व्यक्ति थिए ।

वीरगञ्ज

जेठ २८ गते वीरगञ्जको घन्टाघरमा भेटिएको बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । करिब २५ वर्षका पुरुषको बेवारिसे शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको थियो भने स्वाब संकलन गरेर नारायणी कै प्रयोगशालामा परीक्षण गरिएको थियो । जेठ ३० गते आएको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ ३१ गते कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

वीरगञ्ज

यस्तै वीरगञ्जमै जेष्ठ ३० गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का ५ वर्षका बालकको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालको आइसोलेनमा राखेर उपचार गरिएको थियो ।

सुरुमा अस्पताले गरेको आरडीटी परीक्षणमा ती बालक पोजेटिभ देखिएको थियो पुन पिसिआर गर्न स्वाब लिएको थियो । तर ति बालकको जेष्ठ जेष्ठ ३० गते नै मृत्यु भएको थियो तर ती पुरुषको कोरोना परीक्षणको पीसीआर रिर्पोट मृत्युपछि मात्र आएको जेठ ३१ गतेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका थिए । ती बालक कोरोनाबाट ज्यान गुमाउने १८ केस थिए ।

गुल्मी

गुल्मी धुर्कोट गाउँपालिकाका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुष भारतबाट आएका थिए । जेठ १२ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी रेसुंगा नगरपालिकाको आइसोलेनमा रहेका थिए । ती पुरुषको जेष्ठ ३१ गते आइसोलेनमै उपचारका क्रममा मृत्यु भएको थियो ।

ती पुरुष क्यान्सरका विरामी समेत रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका थिए । ती पुरुषको कोरोना भाइरसबाट ज्यान गएको जानकारी मन्त्रालयले जेठ ३२ गते जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गमाउँने १९ औा व्यक्ति हुन् ।

बाँके

बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । ती महिला मिर्गौलाको समस्या आएपछि नेपालगन्ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी थिइन् । उनको अस्पतालमा उपचारका क्रममा असार १ गते साँझ नै मृत्यु भएको थियो ।

सोही दिन उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालामा नमुना पठाइएको थियो तर, उनको कोरोना परीक्षणको रिर्पोट असार २ गते मात्र आएको थियो जसमा कोरोना संक्रमण भएको पाइएको थियो । उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको मन्त्रालयले असार ३ गते मात्र जानकारी दिए । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने २० औँ व्यक्ति थिइन् ।

कैलाली

गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष कोरोना भाइरसको संक्रमणबा ज्यान गएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण ३१ गते कोरोना पुष्टि भएको थियो । कोरोना भाइरसको संक्रमण देखिएर सेती अस्पतालमा उपचारकै क्रममा ती पुरुषको असार ३ गते साँझ मृत्यु भएको थियो । तर, ती कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ४ गते जानकारी दिएको हो ।

धनगढी

लम्कीचुहा नगरपालिका–२ की ४३ वर्षीया महिला रहेको समेत कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ती महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । तर, उपचारकै क्रममा असार २ गते ज्यान गएको थियो ।

उनको कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ आएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले असार ४ गते कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले भने,‘पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २२ पुगेको छ ।’

यी सहित नेपालका क्वारेन्टिन तथा विभिन्न स्थानमा रहेका ब्यक्तिहरुले गरेको आत्महत्याले पनि नेपालमा कोरोना संक्रमणको त्रास भयाबह देखिएकोछ । कतिपयको कोरोना परीक्षण समेत समयमै नहुनु, मृत्यु अझ दाहसंस्कार पछि उनीहरुको रिर्पोट पोजेटिभ आउनु लगायतका गतिविधिले नेपालमा कोरोनाको त्रास मात्र नभइ यसले ठूलै जोखिम निम्त्याउने देखिएकोछ ।

आम नागरिकले समयमै सबैको स्वाब संकलन गरि परीक्षण गरिनुपर्ने, परीक्षणको दायरा बढाउनु पर्ने जस्ता माग उठाइरहेका छन् । तर, शक्ति र सत्तामा लिप्त राज्यको बागडोर सम्हालेकाहरुलाई आम नागरिकको स्वास्थ्यप्रति रत्तिभर चिन्ता नभएको प्रष्ट छ । अझ पछिल्लो समय क्वारेन्टिन र आइसोलेसनमा बसेकालाई बिना परीक्षण घर पठाउने सरकारको नीतिले नेपाल विश्वमै कोरोनाको ठूलो जोखिममा रहेको प्रष्ट छ ।

अझ यो बीच सरकारले देशभरको जनजीवन सामान्य बनाउन भन्दै लकडाउन खुकुलो पार्दा सर्वसाधरणको उपस्थिती र उनीहरुले स्वास्थ्य सम्बन्धि सावधानी नअपनाएको देख्दा ठूलै दुर्घटना निम्तिनी प्रष्ट छ ।