पूर्वमन्त्री राईले दिए सुधार गृहलाई धोका


पूर्वमन्त्री राईले दिए सुधार गृहलाई धोका

नेपालगन्ज : पूर्वमन्त्री मोहम्द ईस्तियाक राईले बाँकेमा रहेको जयेन्दू बाल सुधार गृहलाई ‘माछो–माछो, भ्यागुतो’ झैं बनाएर गज्जबको धोका दिएको खुलेको छ ।

डुडुवामा रहेको बाल सुधार गृहलाई सहयोग गर्ने पूर्वमन्त्री राईले मन्त्री पदमा हुँदै वाचा मात्रै गरेनन् । संसद विकास कोष मार्फत ३९ लाख रूपैयाँ उक्त गृहलाई प्रदान गर्ने भन्दै उनले निर्णय समेत गराएका थिए । बजेट दिने निर्णय पछि त्यहाँ उपभोक्ता समिति पनि गठन भएको थियो । उनकै पार्टीका एक व्यक्तिलाई अध्यक्ष बनाइएको थियो ।

रकम आएपछि बाल सुधार गृहले मुहार फेर्नेमा सबै आशावादी भएका थिए । तर, पूर्वमन्त्री राईले उक्त आशालाई छिटै निराशामा परिणत गरिदिए ।
बाल सुधार गृहका लागि निर्णय भै विनियोजित रकम समेत उनले त्यहाँ नदिएर राजनीतिक लविङका आधारमा अन्यत्र पठाएको खुलेको छ । हुनत जहाँ गएपनि करोडौं र अर्बौं बजेट दिन्छु भन्दै हिड्ने पूर्वमन्त्री राईका लागि यो सामान्य थियो । तर, उक्त गृहका लागि भने ठूलै सपना असफल भएकै हो ।

उक्त बजेटबाट गृहको भान्साका लागि छाप्रो निर्माण गर्ने, प्रतिक्षालय बनाउँने, तारवार गर्ने, विद्युतीकरणका लागि जेनेरेटर राख्ने, खानेपानीका लागि मोटर जडान गर्ने लगायतका योजना अघि सारिएको गृहका प्रमुख बिमला काउचा मगर बताउँछिन् ।

उनकाअनुसार पूर्वमन्त्री राईले जानकारी र सल्लाहबीनै उक्त बजेट अन्यत्र पठाएको खबर आएपछि अहिले ती सबै योजना योजनामै सिमित भएका छन् । गृहलाई दिने भनिएको रकम उनले कहाँ किन र कसरी खर्च गरे यसको यकिन विवरण र लेखाजोखा नभएको पूर्वमन्त्रीका एक सहयोगी बताउँछन् ।