राप्ती नदीले खतराको तह पार गर्यो, तटीय क्षेत्र जोखिममा


राप्ती नदीले खतराको तह पार गर्यो, तटीय क्षेत्र जोखिममा

बाँकेको कम्दी स्थित राप्ती नदी पुल । तस्विर : सेतोखरी

नेपालगन्ज : राप्ती नदीले खतराको तह पार गर्दा तटिय क्षेत्र उच्च जोखिममा परेकाछन् । दाङ, रोल्पा, प्यूठान लगायतका क्षेत्रमा लगातार वर्षा भएपछि राप्ती नदीको सतह एकाएक बढेको हो । यतीखेर पानीको सतह ५ मिटर ४५ सेन्टीमिटर पुगेकोछ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी गौरी बुढाथोकीका अनुसार राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरिसकेको बताए । उनले भने –‘नदीमा पानीको सतहले खतराको तह पार गरेकोछ । हामीले सावधानी अपनाउदैं तटीय क्षेत्रका बासिन्दालाई सचेत र सर्तक रहन आग्रह गरेकाछौं ।

उनले भने–‘तटिय क्षेत्रका गाउँपालिका र आफ्ना मातहतमा यसबारे जानकारी गराईसकेकाछौं ।’ बुढाथोकीले थपे–‘पानीको तह निरन्तर बढीरहेकाले हाल मापन गरिएको तह बढेर जानेछ ।’

यसबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले राप्ती नदीमा पानीको सतह बढिरहेकोले तटीय क्षेका बासिन्दालाई सर्तक रहन आग्रह गरेकाछन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत राप्ती नदीमा पानीको सतह बढेर खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेकाछन् ।

राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टीमिटरलाई खतराको तह मानिन्छ । केही समयअघि प्राप्त जानकारी अनुसार नदीमा ५ मिटर ४५ सेन्टीमिटरको तह पार गरिसकेकाले तटीय क्षेत्रमा डुवानको खतरा बढेको छ ।

बाँकेको अगैया स्थित जलमापन केन्द्रका अनुसार अगैयाबाट राप्तीको पानी फत्तेपुर, बेतहनी, होलीया लगायतको क्षेत्रसम्म पुग्न करिब ४ घण्टा लाग्नेगर्छ ।