अपराध नियन्त्रण पहिलो प्राथमिकता : एसपी राना
नेपालगन्ज : कास्की प्रहरी प्रमुख हुँदा प्रहरी संगठनकै साख जोगाउने गरी काम गरेका एसपी ओमबहादुर रानाको बाँकेमा अग्नी परीक्षा शुरू भएको छ । प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार–प्रसार शाखाबाट एसपी रानालाई बाँकेको प्रहरी प्रमुख बनाई पठाइएको छ ।
कास्की प्रहरी प्रमुख एसपी रानाले ११ घण्टाभित्रै एक घटनाका अपराधीलाई नियन्त्रणमा लिएका थिए । उनको सो कार्यले नेपाल प्रहरीकै साख जोगिएको थियो ।
एसपी रानाले कास्कीमा रहँदा १ सय ५० फरार अपराधीलाई पक्राउ गरेका थिए । उनले गुण्डागर्दीलाई नियन्त्रण गर्दै ठूला जुवा खेल्ने ३३ वटा समूहलाई पक्राउ गरेका थिए ।
खुल्ला सीमासँगै दैनिकजसो हुने अपराधिक घटना, चोरी जस्ता कार्यलाई हुन नदिन २४ घण्टा खट्नु पर्ने र लकडाउनले आजित नागरिकको सुरक्षा प्रत्याभूत गर्नु बाँके प्रहरीका लागि चुनौती देखिएको छ ।
यद्यपी बाँकेमा आउने हरेक प्रहरी प्रमुख (एसपी)को पहिलो प्राथमिकतामा अपराध नियन्त्रण, नदीजन्य बस्तु अबैद्य निकासी रोकथाम नै पर्ने गरेको छ । तर, पछि गएर यहि प्राथमिकताका योजना नै कमाई खाने भाँडो जस्तै बन्छन् । र, नदी दोहन, तस्करी, लागूऔषध लगायका विविध शीर्षकमा यहाँका प्रहरी प्रमुखले करोडौं कुम्ल्याएर जाने गरेको तितोसत्य कायमै छ ।
अहिलेका एसपी रानाको पनि पहिलो प्राथमितामा पनि उही रेडिमेट योजना अपराध नियन्त्रण र नदीजन्य बस्तु अवैद्य निकासी रोकथाम नै परेको देखिएको छ । तर, उनी र उनको नेतृत्वको बाँके प्रहरीले बनाएको योजना कति सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
भर्खरै सरूवा भएर आएका बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्लाको समग्र सुरक्षा ब्यवस्थापनका लागि आफू अहोरार्थ खटिरहने बताएका छन् ।
सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपानेसँग आईतबार विशेष कुराकानी गर्दै एसपी रानाले बाँकेमा हुने आपराधिक गतिविधी र नदी दोहन रोकथाम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
केही दिन अघि मात्रै बाँके प्रहरीले राप्ती नदी दोहनमा सक्रिय मनोज भनिने एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, अधिकाशं यस्ता प्रकरणमा प्रहरीकै सेटिङ हुने र दोषीले कानूनी कारबाहीवीनै छुटकारा पाउन प्रावधान जस्तै बनेको छ ।
सुरक्षा चुनौतीबारे अध्ययन गरेर सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउँदै एसपी रानाले कानून विपरित काम गर्ने जोकोहीलाई तत्काल नियमअनुसार कारबाही गर्ने उनले चेतावनी समेत दिए ।
कोभिड– १९ का कारण बाँके आक्रान्त भएको हुँदा यहँका सबै सीमानाकामा अझै सुरक्षा व्यवस्था कडा पारिने एसपी राना बताउँछन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिसँगको सहकार्यमा सीमा नाकामा कडाईका साथै लकडाउनको उचित व्यवस्थापन गरिने योजना रहेको उनी बताउँछन् ।
बाँकेको समग्र सुरक्षाका लागि योजना निर्माण गरी त्यहि योजना अनुसार अघि बढ्ने उनले जानकारी दिए । जनतालाई सुरक्षा दिने निहुँमा कोही कसैबाट अर्थात सुरक्षा निकायका कुनैपनि व्यक्तिबाट गतल काम भएको गुनासो आएमा सम्बन्धी व्यक्ति चाहे त्यो जुन ओहोदा र पदको होस् उसलाई तत्काल ठाउँका ठाउँ नियम अनुसार कारबाही गरिने पनि एसपी रानाले चेतावनी दिएका छन् ।