महत्वाकांक्षी योजना सहितका नीति तथा कार्यक्रम


महत्वाकांक्षी योजना सहितका नीति तथा कार्यक्रम

नेपालगन्ज : जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि दर्जनबढी महत्वाकांक्षी योजना सहितका नीति तथा कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले आमनागरिकको माग र चाहनाअनुसार पालिकातहमै २५ शैयाको सुविधा सम्पन्न बिशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा उक्त अस्पताल सञ्चालनमा ल्याउने रणनीतिकका साथ सो योजना गाउँपालिकाको प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादव बताउँछन् ।

अस्पतालमा सुविधायुक्त एम्बुलेन्स सञ्चालनको पनि व्यवस्था गर्ने गाउँपालिकाले नीति लिएको छ । पालिकास्तरमै रक्त संकलन केन्द्र स्थापना गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई प्रभावकारी बनाउन प्रोत्साहन भत्ता बृद्धि गर्ने र स्वास्थ्य संस्थाको भौतिक सुधार गरिने लगायतका कार्यक्रमहरू गाउँपालिकाले तयार गरेको अध्यक्ष यादवले बताए ।

आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा विकास गर्न गाउँपालिकामा कम्तिमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, सबै वडामा मावि सञ्चालन गर्ने, विद्यार्थी भर्ना भएर छोड्ने प्रवृतिलाई निरूत्साहित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपाकिलाको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको अध्यक्ष यादव बताउँछन् ।

गाउँपालिका अन्तर्गतका विद्यालयको भौतिक पूर्वाधार विकास गर्दै हरित विद्यालय बनाईने योजना पनि उक्त नीति तथा कार्यक्रममा समेटिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्री बताउँछन् ।

गाउँपालिकाले आम्दानी बढाउन वैज्ञानिक कर प्रणालीको विकास गरी लगानीमैत्री कर नीति अघि सारेको पनि खत्रीले बताए । आगामी आर्थिक वर्षमा गाउँपालिकालाई औद्योगिक करिडोरको रूपमा विकास गरिने नीति तथा कार्यक्रम रहेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । सोमवार उद्घाटन भएको आठौं गाउँसभाको पहिलो सत्रमा उक्त योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।