क्वारेन्टिनमा बस्नेको संख्या घट्दै


क्वारेन्टिनमा बस्नेको संख्या घट्दै

File Photo

नेपालगन्ज : बाँकेमा रहेका क्वारेन्टिनमा अहिलेपनि एक हजार ६ सय ११ जना व्यक्तिहरू स्वास्थ्य परीक्षणको पखाईमा छन् । भारतबाट आउने नागरिकको संख्या कम हुँदै गएपछि अहिले यहाँका क्वारेन्टिनमा बस्नेको चाप केही घटेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

विगतमा भरिभराउ यहाँका क्वारेन्टिन अहिले खाली हुँदै गएका छन् । अहिले प्रदेशका दुईतिहाई क्वारेन्टाइन खाली देखिएका छन् । तर, कतिपय क्वारेन्टिनमा बसेकाहरू अन्तिम स्वास्थ्य परीक्षणबीनै घर फर्किका छन् । यसले फेरी कोरोना संक्रमण फैलिनसक्ने सम्भावना देखिएको छ । बर्दियाका क्वारेन्टिनमा दुई हजार ६५ रहेका छन् ।

प्रस्तावित लुम्बिनी प्रदेशका क्वारेन्टिनमा पनि चाप घट्दै गएको छ । सोमबार दिउँसोसम्म यहाँका क्वारेन्टिनमा २१ हजार ७ सय २६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

२ साताअघि ४२ हजार व्यक्तिहरु यहाँका क्वारेन्टिनहरुमा थिए । प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले भने, ‘अहिले विस्तारै मानिसहरुको संख्या घट्दै र क्वारेन्टिनहरु खुकुला हुँदै गएका छन् ।’

प्रदेशका १२ जिल्लामा गरी एक हजार ७ सय ९७ क्वारेन्टिन छन् । तीनमा ६१ हजार सात सय १७ जनाको बेड क्षमता छ । जिल्लागत रुपमा सबैभन्दा धेरै कपिलवस्तुमा १० हजार तीन सय १० र दाङमा १० हजार २ सय ५५ बेड क्षमताका क्वारेन्टिन छन् ।

प्रदेशमा सबैभन्दा धेरै दाङमा चार हजार दुई सय ८० जना छन् । यसपछि गुल्मीमा तीन हजार तीन सय ३९ जना क्वारेन्टिनमा छन् । प्युठानमा दुई हजार पाँच सय दुई, पाल्पामा दुई हजार तीन सय दुई, अर्घाखाँचीमा दुई हजार दुई जना क्वारेन्टाइनमा छन् । रुपन्देहीमा एक हजार एक सय १९, कपिलवस्तु आठ सय ४९, नवलपरासी पश्चिम सात सय ३५, रोल्पा ५ सय ८२ र रुकुम पूर्व एक सय ४० जना छन् ।

क्वारेन्टिनमा बस्ने व्यक्ति घट्दै गएपछि पछिल्लो समय भौतिक सुविधा भएका क्वारेन्टिनलाई नै आइसोलेसन सेन्टर बनाउन थालिएको छ । प्रदेशमा ९८ वटा आइसोलेसन सेन्टर छन् । प्रदेशमा सोमबार दिउँसोसम्म दुई हजार चार सय ८३ जनामा संक्रमण देखिएको छ ।