गोर्खालीले बचाएको भारत


गोर्खालीले बचाएको भारत

नेपालगन्ज : भारत सासित काश्मिरमा भएको आक्रमणमा परि एक नेपालीको मृत्यु भएको दुई दिन बितेकोछ । तर, भारतले काश्मिरमा मारिएका गोर्खा रेजिमेन्टका हवल्दार दीपक कार्कीको हत्यालाई सामान्य लिएकोछ ।

यसअघि पाकिस्तानबाट वा आतंकबादी हमलाबाट भारतका कुनै सेनाको हत्या भएको खण्डमा सिंगो भारत शोकमग्न हुदै ग्राउण्ड रिपोर्ट समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चार तथा भारतीय सरकार गोर्खा रेजिमेन्टमा कार्यरत हवल्दारको मृत्युलाई नजरअन्दाज गरेको पाइएकोछ ।

सोमबार बिहान करिब साढे ५ बजे पाकिस्तानी सेनाको आक्रमणबाट गोर्खा रेजिमेन्ट ३–५ जीआरमा कार्यरत गुल्मी छत्रकोट–५, खज्र्याङका दीपक कार्कीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

वास्तविक सीमा रेखा (एलओसी)को सुरक्षामा खटिएका उनको पाकिस्तानले अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्दै गरेको आक्रमणमा परि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले औपचारिकता मात्रै जनाए ।

यसअघि आक्रमणमा ज्यान गुमाउनेहरुलाई राजकीय सम्मान दिइ अन्त्येष्टि गरिन्थ्यो । तर, भारतको सीमा बचाउन गोर्खा सेनामा भर्ती भएका नेपालीको मृत्युमा भारतीय मिडिया मात्र होइन भारत सरकारलाई केही फरक परेन । यसको जवाफमा न कुनै समाचार बने न कुनै सरकारी धारणा समेत भारतले सार्वजनिक गर्यो ।

पछिल्लो समय नेपालले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानि सहितको नक्शाका कारण उत्पन्न तनावकै कारण रिसले मुरमुरिएको भारत गोरखा सेनामा रहेका हवल्दारको मृत्युमा तैचुप मैचुप छ ।

भारतको यो रवैया देखेर यतिबेला सामाजिक सञ्जालमा गोर्खा सेनाबाट भारतमा खटिएका सबै नेपालीलाई फिर्ता बोलाउनु पर्ने धारणा समेत अधिकाशंले राख्दै आएकाछन् । भारतीय सीमा बचाउन आफ्नो ज्यान दिने वीर नेपालीको बलिदानलाई भारतले अवमुल्यांकन गरेको भन्दै भारतको विरोध मात्र होईन गोरखा सेनालाई फिर्ता बोलाउन माग गरिएको हो ।

खज्र्याङका शालिकराम कार्कीका छोरा दीपक ३–५ गोर्खा राईफलमा हवल्दार पदमा कार्यरत थिए । ज्यान गुमाउने दीपकका दुई छोरी, एक छोरा र श्रीमती छन् । भारत र पाकिस्तानको सीमा क्षेत्रमा खटिएका कार्कीको मृत्युले यतिबेला खज्र्याङको सिंगो गाउँ शोकमा छ ।