कोरोना संक्रमण बढेपछि बैतडीको सदरमुकाम सील


कोरोना संक्रमण बढेपछि बैतडीको सदरमुकाम सील

नेपालगन्ज : कोरोना सङक्रमित बढ्दै गएपछि बैतडीको सदरमुकाम क्षेत्र दशरथचन्द नगरपालिका सील गरिएको छ ।

नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्मका लागि दशरथचन्द नगरपालिका सील गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाका अनुसार अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु बाहेक सबै बन्द गरिएको जनाए ।

स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको हो ।

नगरपालिका सील गरिएको अवस्थामा सामाजिक दूरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने लगाएतको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आईतबार, मङ्गलबार र बिहीबार खोल्न ब्यवस्था गरिएकोछ । दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि असार ८ गतेदेखि १५ गतेसम्मका लागि बजार क्षेत्र सील गरेको छ । पछिल्लो समय देशमै सुदूरपश्चिम क्षेत्रमा कोरोना संक्रमणको दर बढेकाले सो क्षेत्रको जनजीवन प्रभावित बन्दै आएकोछ ।