आईजीपीमा पाल र थापाबीच प्रतिस्पर्धा


आईजीपीमा पाल र थापाबीच प्रतिस्पर्धा

नेपालगन्ज : अबको १५ दिनमा अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) घर जाँदैछन् । उनी असार २५ गते अनिवार्य अवकाश हुनुको विकल्प छैन् । सालिन र भद्र आईजीपी ठाकुरप्रसाद ज्ञवाली असार २५ मा घर जाने भएसँगै यतिबेला नयाँ आईजीपीको चर्चा चुलिन थालेको छ ।

संघीय सरकार तथा गृह मन्त्रालयले नयाँ आईजीपीको खोजी अभियान शुरू गर्दैछ । तर, अब १० दिन बाँकी रहँदा विगतको तुलनामा अहिले खासै चर्चा र प्रतिस्पर्धा तथा लाईनमा रहेका उम्मेदवारहरू नेताको घरदैलो धाउने प्रक्रिया कमै देखिएको छ । मतलब अब आईजीपीको लाइनमा जान पनि खासै चाम छैन् ।

तर, यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित छ । यसअघि एआईजी नभएको अवस्थामा डीआईजीबाटै आईजीपी बन्दै आएका थिए । वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन् ।

नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि छन् । तर, उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउनेछन् । यस्तोमा थापा र पाल मात्रै आईजीपीका दाबेदार रहेको प्रहरी उच्च अधिकारी बताउँछन् ।

आईजीपी नियुक्ति सरकारले गर्ने प्रावधान छ । सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई आईजीपी बनाउन सक्ने प्रहरी नियमावलीमा उल्लेख छ । सुरक्षा निकायको महत्वपूर्ण संगठन मध्येको एक नेपाल प्रहरीको आईजीपी नियुक्तिमा प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गरेको छ ।

प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका छैनन् । थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्वपूर्ण कमाण्ड सम्हालेका छन् । हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन् ।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन् । अहिले उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन् । अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी बन्ने सम्भावना बलियो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।