नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्ब २० करोड र वित्तिय व्यवस्थातर्फ तीन करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिइन ।
बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकोमा जोड दिइएको छ ।
कोभिड–१९ को कारणले सबैभन्दा बढि होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लर लगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्यनजर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसलहरु हेरी नखुल्ने पसल सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय कर पौष मसान्तभित्र बुझाएमा आव २०७७–२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव गरिएको छ ।
यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय सञ्चालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताइन् ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति सञ्चालक भएको उद्योगी व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने र लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला सञ्चालक भएको उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरिएको छ ।