बाँकेमा ११ थपिए ९ जना डिस्चार्ज


बाँकेमा ११ थपिए ९ जना डिस्चार्ज

नेपालगन्ज : बाँकेका ११ जना कोरोना संक्रमित घर फर्केकाछन् । जिल्लाका बिभिन्न आईसुलेशन केन्द्रमा रहेका ११ जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाकु श्रेष्ठका अनुसार यसरी कोरोना जितेर घर जानेहरुमा बाँकेका ९ र बर्दिया जिल्लाका २ जना रहेकाछन् ।

बाँकेको कृषि तालिम केन्द्र खजुरा स्थित आईसुलेशनमा बसेका ६ र प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवामा बसेका ३ गरि बाँकेका ९ जनालाई बुधबार बिदाई गरिएको फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

यसैबीच, बाँकेमा थप ११ जना कोरोना संक्रमित फेला परेकाछन् । लगातार तीन दिनसम्म बाँकेमा कोरोना संक्रमित देखिएका थिएनन् ।

भेरी अस्पताल नेपालगन्जमा असार ६, ७ र ८ गते गरिएको परीक्षणमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन । हिजो असार ९ गते गरिएको परीक्षणमा भने बाँकेका ११ सहित बर्दियाका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

नयाँ कोरोना संक्रमितहरुमा बाँकेको बैजनाथ गाँउपालिका ६ का ३, १६, २२, २३, २८, ३२ र ४० वर्ष उमेर समुहका ६ जना पुरुष, बैजनाथ २ का २ जना पुरुष र कोहलपुर कोहलपुर २ का २५ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यद्यपी बैजनाथ ६ का ३२ वर्षिय पुरुष र बैजनाथ २ का एक पुरुषलाई भने यसअघि नै कोरोना संक्रमण देखिएको थियो । उनीहरुलाई पुन परीक्षणमा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन श्रेष्ठले बताए ।

त्यसैगरी भेरीमै गरीएको परीक्षणमा बर्दिया ठाकुरबाबा नगरपालिका २ का ४३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालले पछिल्ला ४ दिनमा ९५२ जनाको कोरोना परीक्षण गरेकोमा १२ जनालाई मात्र संक्रमण देखिएको जनाएको छ ।